संसद विघटनबारे के भन्छन् तनहुँका स्थानीय तहका जनप्रतिनिधि ?

संसद विघटनबारे के भन्छन् तनहुँका स्थानीय तहका जनप्रतिनिधि ?

sthaniya-tah

किरण श्रेष्ठ, तनहुँ । गत आइतबार नेपालको राजनीतिमा एक नयाँ मोड आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचन तोक्न राष्ट्रपतिलाई सिफारिस गरे ।

प्रधानमन्त्रीको सिफारिस सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख १७ गते पहिलो र २७ गते दोश्रो गरी दुई चरणमा निर्वाचन हुने मिति तोकिन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि विभिन्न खालका प्रतिक्रिया आउन थालेका छन् । तनहुँका स्थानीय तहका जनप्रतिनिधिहरुले पनि संघीय संसद विघटनको विषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।

तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले संसद विघटन असंवैधानिक भएको प्रतिक्रिया दिए । ‘संविधानले परिकल्पना नै गरेको थिएन’ अध्यक्ष थापाले भने,’यो अलि मिलेन भन्ने लाग्छ ।’ उनले अगाडि भने ‘म त निति र विधिलाई मान्ने मान्छे । हामि भन्दा उहाँहरुले नै बढी बुझ्नु भएको छ ।’ पार्टी नफ़ुटोस एउटै होस् भन्ने चाहाना हो ।’

संविधान बचाउन संसद पुनर्स्थापना हुनुपर्छ : प्रमुख न्यौपाने

संसद विघटन हाम्रो विद्यमान संविधानको कुनैपनि धारा, प्रकियासंग मिल्दै नमिल्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘आदालतमा रिट परिसक्या छ ।’ प्रमुख न्यौपानेले भने ‘मेरो बिचारमा अदालतको माध्यमबाट पुनर्स्थापना हुनसक्छ ।’

उनले अगाडि थपे ‘एकदमै बहुमत प्राप्त सरकार, दुई तिहाई नजिकको सरकारले कुनैपनि दुर्घटना भएको पत्तो नभएको अवस्थामा आन्तरिक पार्टीको कलह कै कारण संसद विघटन गर्नु ठिक होइन ।’

विद्यमान संविधान अनुसार स्थिर सरकार प्रति जनताको विश्वास गुमेको प्रमुख न्यौपानेले बताए । सडकमा प्रतिगमनको नारा उठिरहेको बेलामा संसद विघटन गर्नु ‘राजा आउ देश बजाउँ’ भन्ने अभियानलाई नै साथ सहयोग हो की भन्ने महसुस भएको प्रमुख न्यौपाने बताउछन् ।

‘निर्वाचनमा जादा कांग्रेसलाई फाइदा होला तरा त्यो आफ्नो ठाउँमा छ तर संसद विघटनले संविधान, संघियता, गणतन्त्र माथिको उपहास गरेको देखिएको छ ।’ प्रमुख न्यौपानेले भने ‘संविधान बचाउने अभियानमा चाहिं संसद पुनर्स्थापना हुनुपर्छ ।’

प्रधानमन्त्रीबाट एकदमै गलत काम भयो : उपाध्यक्ष घिमिरे

त्यस्तै म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले संविधान विपरित एकदमै गलत काम प्रधानमन्त्रीबाट भएको टिप्पणी गर्छन् । उनी भन्छन्, ‘दुई तिहाईको सरकारले जनताका समस्या समाधान गर्छ भन्ने आशा थियो ।’ उपाध्यक्ष घिमिरेले भने, ‘नेकपाभित्रको व्यक्तिगत टकरावका कारण देश र जनताप्रति घात भएको छ ।’

व्यक्तिका आफ्ना रहर, स्वार्थ र महत्वाकांक्षाका कारण व्यवस्थामाथि नै आँच आउने काम गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । घिमिरेले भने ‘राष्ट्रपतिले निर्णयमा सहीछाप गर्नु पनि विवेकसम्मत होईन ।’ संघ सरकारले भन्दा स्थानिय सरकारले राम्रो काम गरिरहेको उपाध्यक्ष घिमिरेले बताए । उनि अगाडी थप्छन ‘संवैधानिक हिसाबले संसद विघटन गलत हो ।’

समय परिस्थित अनुसार संसद विघटन सहि हो : उपप्रमुख रसाईली

जिल्लाको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईलीले समय परिस्थित अनुसार संसद विघटन सहि भएको प्रतिक्रिया दिईन । ‘मन्त्रिपरिषद्ले गरेको निर्णय समयको माग अनुसार भएकाले सहि छ,’ रसाइलीले भनिन, समय अनुसार सबै चल्नुपर्छ ।’ उपप्रमुख रसाईलीले अगाडी भनिन ‘व्यक्तिगत रुपमा मलाई एकदम ठिक लागिरहेको छ ।’

राम्रो काम भएन : उपप्रमुख खनाल

भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल संसद विघटन गर्ने कदम राम्रो नभएको बताउछिन । ‘राम्रो काम भएन, जनताले मत दिएर दुई तिहाई नजिक पुर्याएको सरकारबाट यस्तो काम हुनु अलि राम्रो भएन ।’ उपप्रमुख खनालले भनिन ‘अहिलेको बेलामा संसद विघटन गरेर मुलुकलाई निर्वाचनमा धकेल्नु हुने थिएन ।’ पार्टि भित्रकै आन्तरिक द्वन्दका कारण उब्जिएको परिस्थिति भएको उनको बुझाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ