कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप ‘प्रधानमन्त्री ओलीले आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउन संसद विघटन गरे’

कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप ‘प्रधानमन्त्री ओलीले आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउन संसद विघटन गरे’

Ramchandra Paudel

तनहुँ । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले तनहुँमा पनि विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको तनहुँ कांग्रेसले जनाएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ तनहुँको आयोजनामा जिल्लाको सदरमुकाम दमौलीमा सोमबार वर्तमान सरकारको असंवैधानिक, प्रतिगामी कदम विरुद्ध भएको विरोध सभालाई नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए ।

सो अवसरमा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्ति सिफारिसको लुकाउन प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाए । उनले भने ‘आफूले गरेका अपराध, भ्रष्टाचार छिपाउन लुकीचोरी गरेर आयोगहरु बनाएको र संसदले अस्वीकार गर्ने भएपछि त्यसलाई प्रधानमन्त्रीले नै भंग गरे ।’

संसद पुनर्स्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले बताए । संसद विघटनको विरोधमा सोमबार तनहुँको दमौलीमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छ ।’

चुनाव हुँदा त आफूहरुलाई क्षणिक फाइदा हुने तर संसद विघटनले वैधता पाउँदा संविधान र लोकतन्त्र नै जाने भएकाले विरोधमा उत्रिएको नेता पौडेलले बताए ।

कम्युनिष्ट पार्टि भित्रको झगडाले देशको चरित्र नाश भएको कांग्रेस नेता पौडेलले बताए । ‘संविधान मै नभएको काम गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छैन ।’

नेपालको अर्थतन्त्रले पटकपटकको अस्थिरता थेग्न नसक्ने कांग्रेस नेता पौडेलले बताए । ‘यो देशमा ठालुतन्त्र आएको हो कि प्रजातन्त्र आएको हो ? त्यो कुरा प्रश्न गर्नुपर्ने भएको छ ।’

नेता पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम रोक्न अझै एउटा विकल्प अदालत रहेको छ । नेता पौडेलले भने, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’

संविधानको अक्षरमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्ने व्यवस्था नै नरहेको पौडेलले बताए । भावना पनि संविधानले अस्थिरता नआओस् भन्ने कल्पना गरेको भन्दै उनले अघि भने, विधि दाता भनेको हामी हौं, संविधान हामीले बनाएका हौं । किन यस्तो संविधान बनायौं भन्दा पटकपटक संंसद भंग हुँदा राजनीतिक अस्थिरता भयो, नेपालले दुःख पायो । अब त्यता नलैजान र राजनीतिक स्थिरता होस् ।’

निर्वाचन हुनेमा शंका छ : नेता भण्डारी

आगामी वैशाखमा निर्वाचन हुने कुरामा शंका रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले बताए । दमौलीमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै नेता भण्डारीले सो कुरा बताएका हुन् ।

संसद विघटन गरी प्रधानमन्त्री केपी ओलीले आगामी वैशाखमा निर्वाचन हुने घोषणा गरेका थिए ।

नेकपाको ओली नेतृत्वको सरकार आएदेखी नै अस्थिरता, भ्रष्ट्राचार लागाएतका कामको गति लिएको नेता भण्डारीले आरोप लगाए । जनता प्रति इमान्दार नभएको सरकार विघटन हुनुपर्ने भण्डारीले बताए । उनले भने ‘जनमतको कदर नगर्नेहरुलाई जनताले पाठ पढाउछ, त्यो हिसाबमा निर्वाचन हुनुपर्छ ।’ उनले थपे ‘तर निर्वाचन हुन्छ भन्ने मै शंका रहेको छ ।’ अहिलेको अवस्थामा निर्वाचन हुन सहज वातावरण नभएको नेता भण्डारी बताउछन ।

अवस्था जे जसो भएपनि निर्वाचनको लागी तयार रहन भण्डारीले कार्यकर्तालाई आग्रह गरे ।

त्यस्तै विकासको लागी नभई नेकपाको झगडा पदको स्वार्थका लागी मात्रै सिमित भएको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले बताए ।

‘रातरात ठुलो दुर्घटनामा पुगेको छ ।’ नेता भट्टराईले भने ‘आन्तरिक झगडाले देश गम्भीर स्थितीमा पुगेको छ ।’
उनले भने ‘काङ्ग्रेस सत्ताको पछी लागेको छैन ।’

देशमा सहज रुपमा निर्वाचन हुने अवस्था नदेखिएको नेता भट्टराईले बताए ।’काङ्ग्रेस निर्वाचनबाट भाग्दैन’ भट्टराईले भने ।

नेकपाको आन्तरिक झगडाले संविधान माथि खेलबाड भएको नेपाली काङ्ग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले बताए ।

उनले भने ‘काङ्ग्रेस चुनाव संग डराएरको छैन तर चुनाव हुन्छ की हुँदैन भनेर शंका छ ।’

दमौलीमा निकालिएको र्यालीमा प्रधानमन्त्री केपी ओलीको कदमको चर्को विरोध गर्दै नाराबाजी गरिएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।

क्षेत्र नं २ अन्तर्गत जिल्लाको भिमादमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल लगाएतले सम्वोधन गरेका थिए ।

संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले तनहुँसंगै देशभर विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ