केपी ओलीको सनकमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि कसले के भने ? हेर्नुहोस्

केपी ओलीको सनकमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि कसले के भने ? हेर्नुहोस्

Gagan Kumar Thapa, Yogesh Bhattarai

न्यायालयप्रतिको जनविश्वास थप उच्च भयो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले न्यायालयप्रतिको जनविश्वास थप उच्च भएको प्रतिक्रिया दिएका छन् । संसद् विघटन गर्ने सरकारको निर्णयविरूद्ध आवाज उठाउँदै आएका थापाले अदालतले संसद् विघटनको निर्णयलाई बदर गरिदिएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘अदालतले विनाभय र दबाब, विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।’

सर्वोच्च अदालतको फैसलाबाट प्रतिगमन र स्वेच्छाचारी कदमको हार भयो : सुरेन्द्र पाण्डे

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट प्रतिगमन र संविधानविरोधी स्वेच्छाचारी कदमको हार भएको बताएका छन् ।

अदालतको फैसलाबारे प्रतिक्रिया व्यक्त गर्दै पाण्डेले भने, ‘यो लोकतन्त्रको, न्यायको जित हो, संविधानको रक्षाको पनि प्रश्न हो र प्रतिगमन र संविधानविरोधी स्वेच्छाचारी कदमको हार हो । फैसलाले सर्वोच्च अदालतको, न्यायकर्मीहरूको प्रतिष्ठा बढाएको छ ।’

सर्वोच्चले ३ करोड नेपालीको सम्मानप्राप्त गर्‍यो : योगेश भट्टराई

नेकपाको प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सर्वोच्चले मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको बताएका छन् ।

‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ । मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित,’ उनले भनेका छन् ।

नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय उल्टाउने सर्वोच्चको फैसलाले जनताले जीत हासिल गरेको उनले बताए।

उनले सर्वोच्चको यो फैसलासँगै न्यायपालिकामाथिको विश्वास झनै बढेको बताए। ‘यो लोकतन्त्रको जीत हो, जनतको जीत हो, सर्वोच्चको फैसला बिल्कुलै सही फैसला हो,’ उनले भने।

संवैधानिक इजलासका न्यायाधीहरूलाई ‘स्यालुट’ गर्नुपर्छ– पूर्वन्यायाधीश केसी

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसला गर्ने न्यायाधीशहरूलाई ‘स्यालुट’ गर्नुपर्ने बताए ।

सर्वोचच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेपछि पूर्वन्यायाधीश केसीले संविधान डिरेल हुने अवस्था भएकोमा बल्ल ट्र्याकमा आएको बताए । उनले सर्वोच्च फैसलाको स्वागत गर्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावर छ भनेर घमण्ड गरेको बताउँदै उनको घमण्ड सकिएको बताए । आजको फैसलालो संविधानभन्दा माथि कोही छैन भन्ठान्नुपर्ने शिक्षा दिएको उनको भनाइ छ । पूर्वन्यायाधीश केसीले सर्वोच्चको फैसलाको विश्वभर तारिफ हुने बताए ।

नेपालको न्यायालय सक्षम छ भन्‍ने पुष्टि भयो, ओलीले दण्ड पाए : भीमार्जुन आचार्य

संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएर नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि गरेको बताएका छन् ।

आचार्यले भने, ‘यो फैसलाबाट नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि भयो । न्यायालयको यो साहसलाई सम्मान छ ।’

उनले विधिको शासन पुनर्वहाली भएको पनि बताए । ‘विधिको शासन पुनर्वहाली भएको छ । फैसलाले ओलीलाई दण्ड पनि दियो,’ उनले भने, ‘ विदेशीहरुको क्रिडास्थल बन्नबाट केही हदसम्म जोगियो । नेपालको न्यायलयको र संविधानको साख जोगियो ।’

जनताको जित भयो : झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् ।

संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’

संसद विघटन विरुद्धको रिटमा निवेदक समेत रहेकी नेतृ झाँक्रीले आफ्नो पक्षमा बहस पैरवी गर्ने कानुन व्यावसायीलाई धन्यवाद समेत दिएकी छन् ।

‘प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद,’ झाँक्रीले भनेकी छन्, ‘हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानुन व्यावसायी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ