काठमाडौँ — सरकारले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जानकारी दिइन् ।
बैठकले अन्य विविध निर्णयहरु पनि गरेको उनले बताइन् । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था आएपछि फेवातालमा पानीको सतह घटाइएको छ । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो ।
त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एक सय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।
मंगलबार पूर्वान्ह बसेको यो बैठक नै संसद पुनःस्थापना निर्णय अघिको अन्तिम बैठक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा विघटन गरेको संसदलाई सर्वोच्चले पुनः स्थापना गरिदिएको छ । अब सरकारको दिनगन्ती सुरु भएको छ ।