कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

Lalbabu_Pandit_

नेकपा अब औपचारिक रुपमा मात्र विभाजन हुन बाँकी छ । पार्टी विभाजनको अवस्थामा पुगेपछि तटस्थ रहँदै आएका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसलाई प्रधानमन्त्री बनाउने गरी अघि बढेको प्रचण्ड-माधव पक्षलाई चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि तुलनात्मक रुपमा सही लागेको समूहमा प्रष्ट रुपमा लाग्ने बताउँदै आएका पण्डितले जनताले बहुमत प्रदान गरेको पार्टी, जनताले हराएको कांग्रेसको नेतृत्वको सरकार बनाउनतर्फ लाग्न नहुने बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै एकता अभियानमा रहेको प्रष्ट पारेका छन् ।

पण्डितले भनेका छन् – ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन । यो जनमतको अपमान हुने भएकोले कहिँ यस्तो अवस्था नआओस् । मेरो यसमा बिरोध रहनेछ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु ।’

https://twitter.com/Lal_Babu_Pandit/status/1364852908991283202

सम्भव रहुन्जेल पार्टी एकतामा प्रयास गर्ने भन्दै उनी तटस्थ रहँदै आएका हुन् । तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिंदै आएका छन् । यसअघि दुई पटक मन्त्री बनेका उनी नेपाल कोटाबाटै बनेका हुन् । पहिलो पटक तत्कालिन शुशिल कोइरालाको क्याबिनेटमा सामान्य प्रशासन मन्त्री हुँदा उनले डिभी पिआरधारी सरकारी कर्मचारीविरुद्ध ऐन ल्याएर वाहवाही बटुले ।

गत आम निर्वाचनमा काँग्रेसका शीर्ष नेता डा. शेखर कोइरालालाई उनकै गृहनगर बिराटनगरमा हराएर पुनः मन्त्री बने । चर्चायोग्य काम भन्दा पनि संविधान कार्यान्वयनको मूख्य जिम्मा रहेको सामान्य प्रशासन मन्त्रालयमा समायोजनकै काममा उनी खटिए । बाहिर चर्चा नभएपनि संघीय संविधान कार्यान्वयनको मूख्य जिम्मेवारी उनले निभाए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानजनक ढंगले कार्यसम्पादनमा अंक कम ल्याएको भन्दै सरकारबाट निकालेको बाहिर सन्देश पुग्यो । उनले ८६ प्रतिशत कार्यसम्पादनका साथ आफ्नो मन्त्रालय दोस्रो स्थानमा रहेको बताउँदै आएका छन् ।

‘जिन्दगीभर मलाई किन निकाल्नुभयो ? भनेर प्रधानमन्त्री केपी ओलीसँग सोध्दिन’ भन्दै आएका पण्डितलाई केपी ओली समूहमा जालान् भनेर अरुले पत्याउँदैनन् । पाँच वर्षको सरकार चलाउने म्याण्डेट जनताले नेकपालाई दिएको बेला बीचमा सरकार परिवर्तन गर्न नहुने भन्दै उनले ओलीलाई नै सरकार चलाउन दिइरहनुपर्ने धारणा व्यक्त गर्दै आएका थिए ।

तर, प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटनको विपक्षमा पण्डित उभिए ।उनले यो असंवैधानिक कदम भन्दै खेद नै प्रकट गरे । अहिले सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि स्वागत गरेका छन् ।

https://twitter.com/Lal_Babu_Pandit/status/1364268717253693440

सत्य र न्यायको पक्षमा उभिँदै आएका पण्डित अझै पनि खुलिसकेका छैनन् । उनले आफू अझै छलफलमै रहेको बताएका छन् । जबजको ईमान्दार कार्यकर्ता भएकाले पनि उनी यो अवस्थामा रहन पुगेका हुन् ।

पार्टी एकता गर्नुपर्ने भन्दै बसिरहेका बामदेव गौतमको अभियान त आफू अध्यक्ष हुने बामदेवको अभियान मात्र रहेको उनी हाक्काहाक्की बताउँछन् । त्यसैले उनी त्यो एकता अभियानमा होइनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ