Gandak News
Our News Your Views

मलाई देशको झण्डा बोक्न मन छ [कविता]

  • यज्ञराज पौडेल

बा को पुस्ताको पुरै जिन्दगी
र मेरो पुस्ताको आधा जिन्दगी
देशको रंगमञ्चमा देखिएका
अक्सर उस्तै
दृष्य हेरेर बितिरहेछ ।
प्रिय देश
मलाइ बाँकी जिन्दगी
अस्थिरताको अभिषप्त खुट्किला
भइरहन मञ्जुर छैन ।

एकाबिहानै
रेडियोले उस्तै निराशाको धुन बजाएर
सुनाउँछ अझै उस्तै समाचार ।
फगत पुर्खाले दिएको बलिदानीको
ब्याज खाएर
बाँचिरहेछ देशको वर्तमान
आदर्शका गाथाहरुले मात्रै
भरिइरहेछन इतिहासका पानाहरु ।
उर्जाले भरिएको रहरलाग्दो बैंस
जिन्दगीको परिभाषा खोज्दै
निरन्तर पोखिइरहेको छ
मरुभुमिको बालुवामा
देशको तन्नेरी उर्जा ।

मलाई
यो सिलसिलाको अन्त्य कहिले हुन्छ भनेर
पर्खिरहन मन छैन
फेरिनु पर्ने के हो रु
फेरिनु पर्ने के हो रु
मलाई यसपालि प्रश्न होइन
उत्तर भएर बाँच्न मन छ ।

यो वाद र त्यो वाद
जिन्दावाद र मुर्दावादको नाउँमा
बर्बाद भइरहेको
देशको वर्तमानलाई
प्रयोगशालाबाट निकालेर
सबै खाले झण्डा
सँधैको लागि मिल्काएर
मलाई देशको झण्डा बोक्न मन छ
केवल देशको झण्डा बोक्न मन छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस