सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि काम शुरु

सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि काम शुरु

rising hydro

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज–२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ ।

सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो । शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिट्टिँदा चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट स्काभेटरको सिसा फुटेपछि सिनो हाइड्रो र मजदुरबीच विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएका थिए ।

आइतबार सिनो र मजदुरबीच भएको छलफलपछि विवाद समाधान भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए। उनका अनुसार स्काभेटरमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई कारवाही गर्ने, मजदुरको मागबमोजिम जिल्ला दररेट समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । “मजदुरहरुले राखेका अन्य माग पनि क्रमिकरूपमा पूरा गर्दै जाने सिनो र मजदुरबीच सहमति भएको छ,” घिमिरेले भने, “उक्त सहमतिसँगै सोमबारदेखि मजदुर काममा फर्कन सहमत भएका छन् ।”

आयोजनाको प्याकेज–१ का लागि निर्माण कम्पनीसँग पनि सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैंकले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाले जनाएको छ ।

पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअघि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज–२ अन्तर्गत सिनोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ ।

आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ