गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डपमा १०८ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरिएको छ । महाशिवरात्रि पर्वका अवसरमा विधिवत् पूजापाठ गरी मूर्ति प्रतिस्थापन गरिएको हो ।
सिद्धेश्वर शिवालय मन्दिर सेवा समितिका अनुसार मण्डपमा शिवलिङ्गसँगै द्वादश रुद्रका १२, एकादश रुद्रका ११ र पञ्चमुखी पशुपतिनाथका पाँच मूर्ति राखिएको छ । विभिन्न दाताबाट सहयोग जुटाएर मूर्ति प्रतिस्थापन गरिएको शिवलिङ्ग मण्डप व्यवस्थापन समितिका अध्यक्ष राज थापाले जानकारी दिए । “न्यूनतम रु। २१ हजारदेखि रु। एक लाख १० हजारसम्म सहयोग गर्ने दाता छन्, अहिलेसम्म सय जना मण्डप निर्माणको अभियानमा जोडिएका छन्”, उनले भने । समितिले २०७ दाताको सहयोगमार्फत शिवलिङ्ग मण्डप निर्माणलाई पूर्णता दिने लक्ष्य लिएको छ । मण्डप निर्माणका लागि स्वतःस्फूर्त रुपमा सहयोग जुटिरहेको छ ।
शिवलिङ्गसहित सबै मूर्ति पवित्र कालीगण्डकी नदीका शिलामा कुँदिएको हो । विसं १८१० मा निर्मित उक्त मन्दिरलाई धार्मिक एवं साँस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्न समिति र स्थानीयवासी लागिपरेका छन् । मन्दिरको पुनःनिर्माणसहित बृहत्तर विकास योजना अघि बढाइएको मन्दिरका अध्यक्ष ज्ञानबहादुर थापाले बताए । संरक्षण अभावमा अस्तित्व सङ्कटबाट गुज्रेको मन्दिरले विस्तारै मुहार फेर्दैछ । दश वर्षे गुरुयोजना बनाएर काम थालिएको अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार जीर्ण अवस्थामा पुगेको मन्दिरलाई पुरातात्विक कला, कौशल झल्कने गरी पुनःनिर्माण गरिनेछ ।
मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना बनाउने योजना समितिले अघि सारेको छ । “स्थानीयवासीको पहल र सहयोगमा मन्दिरको काम अगाडि बढाइएको छ”, अध्यक्ष थापाले भने, “सरकारी निकायबाट खास सहयोग आएको छैन, ऋणधन गरेरै भएपनि मन्दिर संरक्षण अभियानमा लागेका छौँ ।” जग्गा व्यवस्थापन, घेराबार, पर्खाललगायत संरचना बनाउँदा हालसम्म रु। १५ लाख जति खर्च भइसेकेको छ । गत आर्थिक वर्षमा गलकोट नगरपालिकाले दिएको रु। दुई लाखबाहेक अन्य निकायबाट कुनै सहयोग आएको छैन । मन्दिर व्यवस्थापनले ऋण काढेर भएपनि कामलाई गति दिएको छ ।
झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्री र बालाचर्तुदशी पर्वमा ठूलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ । जिल्लाकै पुरानो र महिमा बोकेको शिवालयका रुपमा मन्दिरको चिनारी छ ।
पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आइ त्यस ठाउँमा बस्न थालेपछि शिवालय मन्दिर स्थापना गरिएको गाउँका अगुवा बताउँछन् । मन्दिरको नाममा बाह्रमुरी धान आउने दुई खेत पनि छन् । खेती लाउन दिइएको ठेक्काबाट आउने रकम मन्दिरको पूजा व्यवस्थापनमा खर्च हुन्छ । मन्दिरसँगै जोडिएको ऐतिहासिक नाच्ने डाँडाले पनि सो ठाउँको महत्व बढाएको छ । उक्त डाँडामा वर्षेनी तीज पर्वको अवसरमा मेला लाग्छ । मन्दिरदेखि दुई किमि दुरीमा रहेको पाण्डुकेशरी गुफासँग पनि शिवालयको साइनो छ । वर्षेनी बालचर्तुदशीका दिन मन्दिरबाट सतबीज छर्दै गुफामा पुग्ने चलन छ । समितिकै पहलमा मन्दिर–गुफा जोड्ने गरी पदमार्ग निर्माण गरिएको छ ।
यही वर्ष मन्दिर परिसर र पदमार्ग आसपासमा पिपल, वर, स्वामी, कपुरलगायत धार्मिक महत्वका सयौँ बोटबिरुवासमेत रोपिएको छ ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ