प्रदेश सरकारको सहयोगमा म्याग्दीको खाम्लामा नमूना कृषि गाउँ कार्यक्रम

प्रदेश सरकारको सहयोगमा म्याग्दीको खाम्लामा नमूना कृषि गाउँ कार्यक्रम

agriculture

बेनी। विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गरिएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत कार्यक्रम कार्यान्वयन शुरु गरेको हो ।

चालु आवमा रु ४० लाख विनियोजन गरिएको कार्यक्रम कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बाबजुद पनि धमाधम कार्यान्वयन भइरहेको कार्यक्रमका कृषि प्राविधिक सगुन कटुवालले जानकारी दिए ।

“प्रदेश सरकारको ८५ र सहकारीको १५ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ”, उनले भने, “सहकारीमार्फत फलफूल र तरकारी खेती विस्तार गर्न लागिएको छ ।”

विषादी र रासायनिक मलको प्रयोग विना जैविक प्रविधिको प्रयोग गरेर खेती गरी वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले खिवाङ र खाम्लालाई सिफारिस गरेको थियो ।

सहकारीअन्तर्गत ५५ घरधुरी कृषक कार्यक्रममा आबद्ध भएका छन् । कार्यक्रममार्फत कृषि औजार, सामग्री, बिरुवा, बीउ वितरण, सिँचाइ पोखरी निर्माण, तालीम सञ्चालन गरिने सहकारीका अध्यक्ष रामबहादुर कामीले बताए ।

सिँचाइका लागि एक ठूलो र दुई साना पोखरी निर्माण भइरहेका छन् । बीस पलास्टिक घर निर्माण गर्ने, २० थोपा सिँचाई सेट तथा गोलभेँडा, खुर्सानी, काउली, बन्दा आदि जातका तरकारीका बीउ र छ मिनिटेलर हलो वितरण गर्ने कार्यक्रम छ ।

तीन हजार सुन्तला, दुई हजार ५०० कागतीका बिरुवा वितरण गर्ने र ३५५ खाडल खन्न अनुदान उपलब्ध गराइने भएको छ । तरकारी र फलफूल खेतीसम्बन्धी तीन÷तीन दिनको तालीम प्रदान गरिएको छ ।

खाम्ला र खिवाङ धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा पर्छ । यहाँ तरकारी उत्पादन भएपछि स्थानीयवासीले दैनिकरुपमा स्वच्छ र ताजा तरकारी उपभोग गर्न पाउने मात्र नभई नजिकैको बजार तथा पदयात्रा र आरोहणमा आउनेलाई बिक्री गर्न सक्छन् ।

भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने हालसम्म सडक सुविधा नपुगेको खिवाङ र खाम्लामा नमूना कृषि कार्यक्रम लागू भएकामा स्थानीयवासी उत्साहित भएका छन् । प्रदेश सरकारले बेनीको सिङ्गा सुर्केमेला, बास्कुना, मङ्गलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, रघुगङ्गाको भगवती घट्टटोल र अन्नपूर्णको भुरुङ्ग–तातोपानीमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds