स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सिद्धार्थ राजमार्ग सडक खण्डको कालीगण्डकी नदीमा निर्माण गरिएको राम्दी पुल जीर्ण हुँदा आवतजावतमा जोखिम बढेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पाल्पा जिल्लालाई जोडेर कालीगण्डकी माथि निर्माण गरिएको सो पुल जीर्ण बन्दै जाँदा हजारौं मानिस मर्कामा परेका हुन् ।
भारत सरकारको सहयोगमा विसं २०२२ बाट सिद्धार्थ राजमार्गको निर्माण कार्य शुरु भएसँगै २०२८ सालबाट सञ्चालनमा आएको सो पुल दिन प्रतिदिन जीर्ण बन्दै जाँदा सिङ्गो गण्डकी प्रदेशका ११ जिल्लावासी मर्कामा परेका हुन् । निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि मर्मतसम्भार हुन नसक्दा पुल थप जीर्ण बन्दै गएको हो ।
राम्दी पुलको भारबहान क्षमता कमी भएकाले १० टन भन्दा बढीका मालबहाक सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ । ती सवारीसाधनले ढुवानीको लागि वैकल्पिक बाटो अपनाउनुपर्ने भएकाले ढुवानी शुल्क बढी लाग्ने भएकाले यस क्षेत्रका उपभोक्ता मर्कामा परेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले राम्दी पुलका कारण व्यापारी व्यवसायीका साथै उपभोक्ता मर्कामा परेको बताए । पुलको स्तर वृद्धिका लागि पटकपटक कुरा उठाएपनि अहिलेसम्म कार्यान्वयन नहुँदा जोखिम बढ्दै गएको उनको भनाइ छ ।
पुतलीबजार नगरपालिका—३ का समाजसेवी अनन्तकुमार श्रेष्ठले राम्दी पुलको भारबहान क्षमता कमी हुँदा बुटवलबाट स्याङ्जा ल्याउनुपर्ने सामान नारायणगढ, मुग्लिन, पोखरा हुँदै घुमाएर वैकल्पिक बाटोको प्रयोग गरेर ल्याउनु पर्दा ढुवानी समयका साथै खर्च समेत बढी लाग्ने भएकाले उपभोक्ता मर्कामा परेको बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले राम्दी पुलको लागि गत वर्ष नै बजेट छुट्याएको र सड्क विभागले निर्माणसम्बन्धी प्रक्रिया अगाडि बढाएको जानकारी दिए । सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्द अधिकारीले आगामी आर्थिक वर्षदेखि पुलको मर्मत कार्य गरिनुका साथै सोही स्थानमा अर्को नयाँ पुल निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’