खेतबारीमा हुनुपर्ने बेला ओछ्यानमा छन् किसान

खेतबारीमा हुनुपर्ने बेला ओछ्यानमा छन् किसान

myagdi

म्याग्दी । म्याग्दी जिल्लामा पनि केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ । विगतका वर्षहरुमा यतिबेला खेतबारीमा व्यस्त देखिने म्याग्दीका किसानहरु यस वर्ष भने केही अस्पतालका शय्या त केही घरका ओछ्यानमा छन् । खेतीबालीको यो समयमा कामको व्यस्तताले छट्पटीमा देखिने अहिले भने ओछ्यानमा छट्पटाउँदै कोरोना महामारीसँग लडिरहेका छन् ।

मध्य जेठको याम शुरु हुनै लाग्दा हिमाली जिल्ला म्याग्दीमा खेतीपातीको कामले भ्याइ नभ्याइ हुन्छ । जेठको आधाआधी भनेको बेसीका खेतबारीमा मकै गोड्ने, बाँझो जमिन जोत्ने, मल हाल्ने, धान, कोदाको विऊ राख्ने र उच्च लेकाली क्षेत्रहरुमा रोपाइँ गर्नका लागि किसानहरु बिहान उज्यालो नहुँदै उठेर राति अबेरसम्म व्यस्त हुने समय हो ।

यो वर्ष कोरोना सङ्क्रमणले उनीहरुको यो व्यस्त समय पनि खाइदिएको छ । त्यसैले किसानहरु अहिले खेतबारीमा देखिँदैनन्, अस्पताल या घरमै एकान्तबासमा छन् । कतिपय कोरोना भाइरससँग लढिरहेका छन् ।

कोरोनाको सङ्क्रमणका कारण ग्रमिण क्षेत्रका वस्तीवस्ती प्रभावित भएका छन् । खेतबारीमा पुगेर धानको विऊ राख्ने, मकै गोड्ने, कुलो र पानीको व्यवस्था मिलाउने समय हो यो । त्यस्तै अझ उच्च लेकाली क्षेत्रमा त हलो र कोदालो बोकेर रोपाइँ गर्न जाने समय पनि भैसक्यो ।

विश्वव्यापिरुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरले म्याग्दीको बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा सङ्क्रमण तीव्र रुपमा फैलिएको हुँदा खेतबारीमा काम गर्नुपर्ने समयमा किसानहरु विरामी भएर सुतेका छन् । किसान नै विरामी भएपछि ग्रामीण भेगको कृषि कर्म प्रभावित बनेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

“गाउँमा अब धान रोपाइँको काम शुरु हुँदैछ, किसानहरु विरामी भएर ओछ्यान परेका छन्” मालिका गाउँपालिका– ५ देविस्थानका वडाअध्यक्ष पिपला बूढाले भने, “घरघरमा सङ्क्रमित देखिन थालेपछि खेतीपातीको काम प्रभावित हुनेभएको छ ।”

“गाउँमा खेतीपातको काम शुरु भएको छ, घरको मुली कोरोनाका कारण अस्पतालको शय्यामा बसेको चार दिन भयो” बेनी अस्पतालमा उपचाररत मंगला गाउँपालिका– ३ बरंजाका एक सङ्क्रमितले भने, “एकातिर मरिन्छ कि भन्ने डर, अर्कोतिर खेती किसानीको खसखस्, दोहोरो चिन्तामा पिरलिएको छु ।”

म्याग्दीमा केही दिनअघिदेखि निरन्तर वर्षा भैरहेको छ । लेकाली क्षेत्रमा रोपाइँको माचो शुरु हुन थालेको छ तर दुई साता अघिदेखि ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमितको ग्राफ ९० प्रतिशत भन्दा माथि उक्लिएपछि गाउँलेहरु झस्किएका छन् ।

ग्रामीण क्षेत्रमा परीक्षणको काम तीव्र पारिएको छ । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

“बजार क्षेत्रमा नयाँ सङ्क्रमित थपिने क्रम घटेपनि ग्रामीण क्षेत्रमा बढेको छ, ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन्”, प्रमुख लम्सालले भने ।

निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुवँरले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds