गैँडाकोटमा मकै खेती प्रवद्र्धन गर्न अनुदान

गैँडाकोटमा मकै खेती प्रवद्र्धन गर्न अनुदान

makai

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब रु ३६ लाख उपलब्ध गराउने भएको हो ।

पछिल्लो समय यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत सङ्घीय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए।

कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तीमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए। मकै खेती लगाएवापत नगरपालिकाका तर्फबाट रु ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताए। तीस बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जनाइएको छ ।

सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ । विसं २०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ