महोत्तरी । विवाहित हिन्दू मैथिल नारीले आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् । अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।
बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै मिथिलानीले घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वट वृक्षको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी देखिएको छ ।
सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा व्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको आज घरमै पर्व मनाइरहेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी श्यामा झा बताउछन् ।
नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रत परम्परा छ। साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि कोभिड–१९ महाव्याधि छल्न जारी निषेधाज्ञाभित्र पर्व मनाउनुपरेकाले घरघरै छुट्टाछुट्टै पर्व गर्नुपरेको मिथिलानी बताउँछन् । गत वर्ष पनि पर्वको बेला कोरोना कहरले जारी लकडाउनभित्रै पर्व मनाउनुपरेको मिथिलानी सम्झन्छन् ।
मिथिलामा केही वर्ष पहिलेसम्म व्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झाको भनाइ छ। वट–सावित्री अब पर्वते मूलका विवाहित महिलाले पनि बाक्लै मनाइरहेका छन्।
विवाहित महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ) का उपप्राध्यापक ध्रुव राय बताउछन्।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो