बेगनासकी ब्लड क्यान्सर पीडित बालिकाको उपचार गर्न सहयोगको याचना [भिडियोसहित]

बेगनासकी ब्लड क्यान्सर पीडित बालिकाको उपचार गर्न सहयोगको याचना [भिडियोसहित]

Dipti sapkota baby

गण्डकन्यूज । पहिलो सन्तान (छोरो) ४ वर्ष पुग्दा छोरी जन्मिइन् । पोखरा ३१, बेगनासका देवबहादुर सापकोटा दम्पतीको दैनिकी खुशीसाथ बित्दै थियो । देव साउदी गए । दुई वर्ष बसेर फर्किए । त्यसपछि कोरोना महामारीका कारण फर्कन पाएनन् । बेरोजगार बने । पोखराकै बिस्कुट फ्याक्ट्रीमा काम पाएको बल्ल २ महिना भयो ।

देवबहादुर र कोपिला बेगनास घर भएपनि शिशुवामै बस्दै आएका छन् । यो जोडीलाई पहिले खानबस्नको समस्या थिएन । फूलका कोपिला जस्ता हुर्कँदा छोराछोरीमध्ये छोरीलाई गम्भिर रोग लाग्यो । ब्लड क्यान्सरबाट ३ वर्षकी छोरी थलिएकी छन् । उनको उपचार गर्नमा पिरलो छ ।

सापकोटा दम्पतीको भोकनिँद हराएको वर्ष दिन पुग्न लाग्यो । गत साउनदेखि दुई वर्षकी छोरीमा स्वास्थ्य समस्या देखापर्न सुरु भयो । निरन्तर मुखमा घाउ आउने, ज्वरो आउने, जिब्रो सुनिने हुन थाल्यो । त्यसपछि पोखरा मेडिकल हल आएर जँचाए । सामान्य जँचाएर औषधि लिएर फर्किए । दाँत कालो हुने, गिँजा कुहिने समस्या आएपछि पद्य नर्सिङ होम पनि पुगे । त्यहाँबाट मनिपाल वा काठमाण्डौ जानुस् भनेपछि उनीहरु असोज ७ गते काठमाण्डौ शिक्षण अस्पताल पुगे । ‘२ हप्ता बढी काठमाण्डौ बस्यौँ । त्यसपछि एण्टिबायोटिक चलाइयो । दुई महिना छोरी ठीक भइन् । अब त भयो कि भनेको भएन । फेरि काठमाण्डौ गयौँ ।’ – बुवा देव भन्छन्– ‘पुस १० तिर फेरि काठमाण्डौ गयौँ । ब्लड क्यान्सर पुष्टि भयो । त्यसपछि पुस अन्तिममा त्यहीँबाट भरतपुर क्यान्सर हस्पिटल जान रिफर गरेपछि गयौँ ।’

चितवन पुगेर कोठा नै लिएर पनि उपचार गराएको सापकोटा दम्पती बताउँछन् । तर, पैसाको अभाव भएपछि घर फर्के । ‘अबको उपचार विधि भनेको किमो चढाउने नै हो । त्यो सुरु गर्नासाथ १० लाखको जोहो गर्नुपर्छ । बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएमा २० लाख त चाहिन्छ । ६ महिना हस्पिटल बस्नुपर्ने, ३ वर्षसम्म उपचार गर्नुपर्छ भनेपछि नसक्ने भएकाले फर्केका हौँ ।’ देव थप्छन् ।

घरमै रहँदा चैतमा फेरि हनहनी ज्वरो आएपछि मनिपाल पनि उनीहरु पुगे । ३ दिनमा ५० हजार खर्चेपछि हस्पिटलले पनि क्यान्सरको उपचार हुँदैन भनेर फेरि फर्काइदिएको आमा कोपिला रानाभाट सापकोटा बताउँछिन् ।

क्षेत्रीय अस्पतालमा निःशुल्क सेवा तर क्यान्सर उपचार सम्भव छैन 

असार १ मा ज्वरो १०४ पुगेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा उनीहरु पुगे । अहिले पनि बच्चालाई सोहि अस्पतालको बच्चा वार्डको आइशोलेसन कोठामा राखी उपचार गरिएको छ ।

अस्पतालका बालरोग विभाग प्रमुख वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले उपचारमा ढिलाई गर्न नहुने सुझाउँछन् । ‘क्यान्सर रोगको उपचार हाम्रो अस्पतालबाट सम्भव छैन । तर, रोगको विस्तार, फैलावटलाई रोक्न, ब्याक्टेरियाको सम्भावित अन्य संक्रमणबाट जोगिन, क्यान्सरका कारण स्वास्थ्यमा देखिएका समस्याहरु जस्तै, ज्वरो कम गर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालबाट गरिरहेका छौँ ।’ डा. बास्तोला भन्छन् – ‘ज्वरो आएपछि ईमर्जेन्सीमा आउनुभएको रहेछ । त्यसपछि हामीले भर्ना गरी एउटा कोठा उपलब्ध गराएका छौं । अक्सिजन पनि छ । हस्पिटलभित्रको औषधि निःशुल्क छ । उपचारका लागि कुनै शुल्क लिएका छैनौं । खानको व्यवस्था पनि फ्री नै छ ।’

डा. बास्तोलाका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था अझै ६० प्रतिशत छ । उनी थप्छन्: ‘हामीकहाँ आउनुभएपछि हामीले बच्चाको रिपोर्ट हेरेर हतोत्साही नहुन सुझाव दियौँ । क्यान्सर भन्ने बित्तिकै आश नै मारिहाल्छन्, उपचार सम्भव छ तर ढिलासुस्ती हुनुहुँदैन ।’

अहिले बच्चालाई ए.एल.एल. एक्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर) भएको हो । डा. बास्तोलाको अनुसार अहिलेको अध्ययन अनुसार ए.एल.एल. भएका बिरामी किमोथेरापीबाटै ६० प्रतिशत बाँच्ने सम्भावना हुन्छ । प्रारम्भिक चरणमै भएकाले बच्चाको उपचार पनि सम्भव छ । बच्चा बचाउन सबै परिवार, घर आफन्त, सहयोगी मनहरु लागेमा बच्चाको ज्यान जान पाउँदैन ।

डा. बास्तोलाका अनुसार यसको उपचार नेपालमै सम्भव छ । बोन म्यारो ट्रान्सप्लान्ट काठमाण्डौको सिभिल हस्पिटलमै हुन्छ । सबैलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्न पर्दैन । ६० प्रतिशत जतिलाई किमोथेरापीबाटै पनि निको भएको छ ।

आर्थिक सहयोगको लागि अपिल

सापकोटा परिवारले दिप्तीको उपचारको लागि सहयोगको याचना गरेको छ । सहयोग उपलब्ध हुनासाथ किमोथेरापी सुरु गर्ने परिवारको योजना छ । थेरापी सुरु गरेपछि निरन्तर गर्नुपर्ने हुन्छ ।

बुवा देबबहादुर सापकोटाको सम्पर्क नम्बर 9828582695 हो । ठूलीआमा मञ्जु रानाभाटलाई पनि 9804177920 मा सम्पर्क गर्न सकिनेछ । बुवा देवबहादुर सापकोटाकै नाममा गरिमा बिकास बैंकमा 08510900876683000001 नम्बरको खाता छ । यस्तै, सेञ्चुरी बैंकमा पनि 0010000304CR खाता नम्बरमा रकम जम्मा गर्न सकिनेछ । ‘दिप्ती सापकोटा बचाऔँ अभियान’ सञ्चालन गर्ने परिवारको योजना रहेको छ । 

[अभिभावककै आग्रह र सहमतिमा बच्चाको तस्वीर र भिडियो सार्वजनिक गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।]

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ