पर्वत सुन्दरे खोला बाढीः खाजा खाँदै गर्दा बाढी आयो, अरु पैदलै दगुरे, गाडी लिएर भाग्न खोज्दा लग्यो

पर्वत सुन्दरे खोला बाढीः खाजा खाँदै गर्दा बाढी आयो, अरु पैदलै दगुरे, गाडी लिएर भाग्न खोज्दा लग्यो

parbat sundare khola

पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीपहिरोले बगाएको गाडी मोदी खोलामा भेटिएको छ ।

अविरल बर्षातसंगै आएको बाढीका कारण मध्यरातमा सडकबाटै गाडी बगाउँदा ३ जना बेपत्ता भएका थिए । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा रहेको आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजर राजाराम आचार्य र चालक इन्द्र चौधरीसहित बाढीले बगाएको हाइलक्स गाडी मोदी खोलामा देखिएपछि उद्धारकार्य सुरु भएको छ । गाडीमा अर्को व्यक्ति रहेका तर उनी को थिए भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

राति साढे १० बजेदेखि बेपत्ता रहेको हाइलक्स गाडीको केही भाग नदीमा देखिएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्य थालेका छन् । गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो ।

रती खोला र मोदी खोलाको सङ्गम स्थलनेर झोलुङ्गे पुल रहेको ठाउँ नजिकै गाडी देखिएको प्रहरीले बताएको छ । उर्लदोँ भेलको नदीमा गाडीको अवशेष देखिएकाले तीन जना गाडी भित्रै छन् भन्नेमा आशंका छ ।

बाढीले दुई ओटा मोटरसाइकल र एउटा स्कुटर समेत बगाएको छ । तिनीहरू क्षतविक्षत अवस्थामा फेला परेका छन् ।

कुश्माको दुर्लुङदेखिको सडकमा भेल बग्दा रोड छेउछाउका पाँच वटा किराना तथा चियापसलहरु बगाएका छन् ।

अरु पैदलै दगुरे, गाडी लिएर भाग्न खोज्दा ईञ्जिनियरसहितलाई बाढीले लग्यो

स्थानियका अनुसार ईञ्जिनियर आचार्य, चालक चौधरी रोड छेउको पसलमा खाजा खाँदै थिए । पानी वर्षिरहेको थियो । नजिकैको सुन्दरे खोलामा बाढी उर्लिर आयो । बाढी आएको थाहा हुने बित्तिकै पसल व्यवसायी र ग्राहकहरु पैदल नै भागे । तर इन्जिनियर र उनका चालक गाडीमा चढेर भाग्ने प्रयास गर्दागर्दै बाढीले गाडी नै लग्यो ।

बाढी आएको थाहा हुने बित्तिकै अरुझैं भागेको भए बाँच्ने थियो । एक स्थानिय भन्छन्, सबै जना दौडेर भागेछन्, उहाँहरू गाडीमा जानुभएछ । स्टार्ट गरेर अघि बढुन्जेल बाढीले भेटिहाल्यो ।

कुश्मा–पोखरा र दोविल्ला फलेवास सडक अवरुद्ध

पहिरोका चुवा स्थित दोबिल्ला क्षेत्रको मध्यपहाडी लोकमार्गको सडक र दोबिल्ला–फलेवास सडक अवरुद्ध बनेको छ ।

पहिरोले सडक बगाएको र खोला नै सडकको माथिल्लो भागबाट बगेका कारण सडक अवरुद्ध बनेको हो । मध्यपहाडी लोकमार्गको कुश्मा–पोखरा सडक पूर्णरुपमा अवरुद्ध बनेको प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी थिए । सडकको ठूलो भाग पहिरोले बगाएको छ ।

सडकको बाँकी रहेको भाग माथिबाट अहिले सुन्दरे खोलाको पानी बगिरहेको छ । सडक हिजो राती देखि नै अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरोले दोविल्ला फलेवास सडक पनि बगाएको छ । दक्षिणी क्षेत्र जाने सबै सडक यो संगै अवरुद्ध बनेका छन् ।

सडक अवरुद्ध हुँदा बिरामीलाई पोखरा लैजान समस्या परेको छ । जन्ती पनि ढलेको रुखलाई वारपार तेसारेर तरी गन्तव्यतर्फ लागेका छन् ।

प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाको डोजरलेसडक सफा गर्ने र दिउँसो देखि सुचारु हुनसक्ने प्रहरीले जनाएको छ ।

तल्लो मोदी १ जलविद्युत आयोजनाको उत्पादन बन्द

पहिरो र बाढीका कारण तल्लो मोदी खोला १ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । युनाइटेड मोदी हाइड्रोपावरद्धार सञ्चालीत आयोजनाको क्यानलमा क्षति पुगे पछि उत्पादन बन्द भएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिएका छन् । पर्वत न्यूजमा खबर छ ।

आयोजनाको क्यानलमा क्षति पुगे पछि १० मेगावाट क्षमतामा विद्युत उत्पादन गरिरहेको आयोजनाको उत्पादन कार्य स्थगित भएको निर्देशक गौतमले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds