फलोअपः नेपालीको उपचार सुरु, व्यवसायी खतिवडा र धादिङ समाजको तत्काल सहयोग [भिडियो]

फलोअपः नेपालीको उपचार सुरु, व्यवसायी खतिवडा र धादिङ समाजको तत्काल सहयोग [भिडियो]

Sarita Uddhar

आर्थिक अभावले उपचार नपाएकी पोखरा चाउथे निवासी सरिता नेपालीलाई शनिबार साँझ नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । कलेजोको रोगका कारण पेटमा पानी भरिएर सास समेत फेर्न नसकेकी उनको समाचार प्रकाशन भएपछि सहयोगी हातहरु अघि बढेको हो ।

चाउथे, बेलचौतारामा डेरामा बस्दै आएका उनीहरुको अवस्था दयनीय देखेपछि घरभेटी दुर्गा नेपाल गण्डकन्यूजको सम्पर्कमा आएकी थिइन् । त्यसपछि तत्काल सहयोगको आह्वान गर्दै समाचार प्रकाशित भएको थियो ।

युवा व्यवसायी युवराज खतिवडाले तत्काल आफूले सहयोग गर्न चाहेको बताउँदै नेपाली बसेको घरमा पुगेका थिए । उनले आफ्नै गाडीमा राखेर सरितालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेका थिए । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीको सहयोगमा यथासक्य छुट प्रदान गरी उपचार सुरु गरिएको छ । उनको भिडियो एक्सरे, रगत जाँच गरी आइतबार नै पेटको पानी निकालिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

व्यवसायी खतिवडा स्वयं अस्पतालमा उपचार सहयोगका लागि खटिएका थिए । उनले तत्कालका लागि शनिबार नै नगद १२ हजार समेत सहयोग गरे । खतिवडा पछिल्लो समय समाजसेवामा निकै अग्रसर भएर लागिपरेका छन् । लकडाउन सुरु भएपछि नै पहिलो चरणमै दर्जनौं परिवारलाई आश्रय दिनुका साथै आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । धादिङमा आफ्नो क्षेत्रमा समेत उनले सक्दो सहयोग गर्दै आएका छन् ।

नेपालीको उपचारका लागि धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्साल र कोषाध्यक्ष कुमार आचार्यले समाजका तर्फबाट नगद ५ हजार १ सय प्रदान गरे । धादिङबासी भएका कारण समाजले सहयोग गरेको अध्यक्ष लम्सालले बताए । यस्तै, शिवम सागर गुरुङले घरभेटी दुर्गा नेपाललाई नगद ३ हजार सहयोग प्रदान गरेका छन् । र, घरभेटी नेपालले सो रकम सरिताकी आमालाई हस्तान्तरण गरिन् ।

सरिताका श्रीमान जिते नेपालीले आर्थिक अभावमा बिरामी श्रीमतीको उपचार गर्न नसकेको बताए । श्रीमतीको रेखदेखमा खटिनुपर्दा मजदुरी काम गर्न बाहिर निस्कन समेत नपाएको भन्दै सात जनाको परिवारको हातमुख जोड्नै धौ धौ भएको दुःखेसो पोखे ।

३ वर्षअघिदेखि नै रोगले गलेकी श्रीमतीलाई नेपालीले मजदुरी काम गरी पैसा जम्मा गर्दै उपचार गर्दै आएका थिए । तर अहिले एक सुको पैसा नहुँदा घरमै राख्नुपरेको गुनासो गरे । घरभेटी दुर्गा नेपाल भगवानको अवतारमा प्रस्तुत हुँदा भाडाको किचकिच सुन्न नपरेको र अन्य सहयोग पनि मिलेको बताए ।

जिते नेपालीको घर धादिङको नलाङ हो भने ससुराली ज्याम्रुङ हो । बुवाआमाको को हुन् भन्ने पनि नचिनेका उनको नागरिकता छैन । त्यही कारण श्रीमती सरीताको पनि नागरिकता बनेको छैन । उमेर पुगेका छोराछोरीको पनि नागरिकता नहुँदा जागिर छैन ।

सहयोग गर्न चाहने मनकारी व्यक्तिले उनको सम्पर्क नम्बर 9813111317, घरभेटी दुर्गा नेपालको मोबाइल नम्बर 9846033286 मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन् ।

पेटमा पानी भरिएर सास फेर्नै कठिन, जीवन बचाइदिन याचना गर्दै ४ छोराछोरीकी आमा [भिडियो]

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ