म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखियो

म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखियो

galeswar-mandir

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना पित्तलले छाएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानोमाथि प्लाइउड र पित्तल राखिएको हो ।

विसं २०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । गत साउन अन्तिम सातादेखि सुरु भएको गलेश्वर मन्दिरको छानामा पित्तल राख्ने काम हिजो (मङ्गलबार) सकिएको हो ।

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए । कूल रु ३१ लाख ५० हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट रु २७ लाखभन्दा बढी ब्यहोर्ने निर्णय भएको छ । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन गरिँदै आएको थियो ।

छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ