तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षालाई प्रभावकारी र जीवनोपयोगी बनाउन ३ तहकै सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पोखरेलले प्रदेश शिक्षा क्षेत्रमा देखिएका द्विविधा हटाएर थप प्रभावकारी रुपमा अगाडि बढ्न प्रदेश सरकार लागिरहेको बताएका हुन् । भूकम्प पुनर्निमाण प्राधिकरणले विद्यालयका लागि बनाइदिएको ४ कोठे भवनको उक्त अवसरमा मुख्यमन्त्रीले उद्घाटन गरेका छन् ।
पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीहरुलाई आकर्षित गर्ने खालका विषयवस्तु समावेश गरी व्यावहारिक र रोजगारमुखी शिक्षाको विकासका लागि विज्ञहरुको सल्लाह र सुझाव समेट्दै प्रदेश सरकारले शिक्षा नीति ल्याइसकेको उनले बताए । उनले भने, ‘माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई छ, पालिकासँगको सहकार्यमा प्राथमिकता र आवश्यकताका आधारमा प्रदेश सरकारले शिक्षा क्षेत्रमा काम गर्दै जानेछ ।’
देवघाट क्षेत्रमा नागरिकले प्रदेश सरकारबाट धेरै अपेक्षा राखेको भन्दै उनले पूण्यभूमि देवघाटको विकासमा प्रदेश सरकारले कुनै कसर नराख्ने बताए । गण्डकी प्रदेशको विकासको आधार भनेकै त्रिवेणी, देवघाट हुँदै मुक्तिनाथ हो भन्दै, कालीगण्डकी करिडोर र शालिग्राम मार्गलाई पूर्णता दिने गरी काम भइरहेको जानकारी उनले गराए । धार्मिक पर्यटन, शिक्षा र अनुसन्धानको थलोका रुपमा देवघाटलाई अगाडि बढाउन प्रदेश सरकारले सघाउनले प्रतिबद्धता पनि उनले जनाएका छन् ।

विगतका समयमा बाटोघाटो र पुल नहुँदा समस्या भए पनि अब दासढुंगाबाट प्रवेश गरेर गैंडाकोट निस्कनका लागि संघ सरकारको लगानीमा नारायणीमा पुल बन्दै गरेको र जुक्ति खोलमा प्रदेशकै लगानीमा पुल राख्न लागिएको समेत उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘पुल थिएन, बाटो थिएन, कनेक्टिभिटी थिएन, अब त्यो समस्या हल हुँदै गएको छ ।
देवघाटमा लामो समयदेखि सुकुम्वासी समस्या रहेको बारे आफू जानकार रहेको भन्दै यो सरकारले भूमिहीनलाई लालपूर्जा दिलाइछाड्ने प्रतिबद्धता जनाए । पहिला सूचना प्रविधिको प्रयोग कम हुँदा भूमिपतिहरुले पनि सुकुम्वासीका नाममा जग्गा लिने परिपार्टी भए पनि अब त्यो गल्ती नदोहोरिने उनको भनाइ थियो । कसको नाममा कहाँ र कति जमिन छ भन्ने कुरा अब मालपोतको प्रणालीमै देखिने भएकाले अब वास्तविक सुकुम्वासीले मात्रै जग्गा पाउने बताए ।
प्रदेशले सिमित बजेटका बीच पनि आफूलाई अगाडि बढाइरहेको भन्दै नागरिकलाई महसुस हुने गरी काम गरिरहेको उनले बताए । पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार, कोभिडले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ दिनेगरी बजेट ल्याएको उनले दोहो¥याए । प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियान, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

अघिल्लो सरकारले लगाएका बहुवर्षे योजनाका ठेक्काका कारण यो सरकारले धेरै बजेट चलाउन नपाएको भन्दै तै पनि सालबसाली योजनालाई कटाएरै भए पनि नागरिकका अपेक्षा पूरा गर्नतिर आफूहरु लागेको उनले बताए । ‘अघिल्लो सरकारले थालेका कामको दायित्वबाट पन्छिन मिल्दैन, सरकारमा फेरिएको हो, प्रणाली उही हो, त्यही अनुसार हामी अगाडि बढेका छौं,’ उनले भने ।
कार्यक्रममा बिना विभागीय मन्त्री डोवाटे विश्वकर्मा, पूर्व उद्योगमन्त्री ढुन्डिराज शास्त्री, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त पौडेलसहितले भनाइ राखेका थिए ।
मुख्यमन्त्री पोखरेलले बिहीबार साँझ नै देवघाटमा रहेका ३ वटा संस्कृत विद्यापीठको अवलोकन गरी त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । महेश सन्यास आश्रम, गलेश्वर आश्रम र हरिहर सन्यास आश्रममा उनी पुगेको हुन् । ती विद्यापिठहरुले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, उत्पादित जनशक्तिको खपत, भौतिक पूर्वाधार लगायत विषयमा मुख्यमन्त्रीले चासो देखाए । देवघाट क्षेत्रमा ११ वटा विद्यालयहरुमा संस्कृतको पढाइ हुने र अहिले देश विदेशबाट समेत यो विषय अध्ययनका लागि चासो दिएर छात्रा छात्रा आउने गरेको सञ्चालकहरुले बताएका छन् । सबैजसो पीठहरुमा छात्रछात्रालाई आवास, भोजन र शिक्षाको निशुल्क प्रबन्ध छ । मुख्यमन्त्री पोखरेलले विद्यापीठहरुको स्तरोन्नति र भौतिक पूर्वाधारका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’