चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

laure

‘लाउरे’ नामले युवामाझ चर्चित र्‍यापर आशिष राना पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबार गरेको आरोप लागेको छ ।

कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाउरे पक्राउ परेको पुष्टि गरे । डिएसपी तिवारीले गण्डकन्यूजसँग भने – ‘हिजो पक्राउ परेका हुन् । पोखराबाटै हो । लागुऔषध सम्बन्धमा मुछिएपछि अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’

 प्रहरीले यसबारे थप खुलाउन चाहेन । ‘अहिले अनुसन्धान हुँदैछ । अहिलेलाई यति भनेँ ।’- डिएसपी तिवारीले भने ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले रानासहित ४ जना पक्राउ परेको जानकारी दिए । अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै उनले अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताए ।

श्रोतका अनुसार उनीमाथि ब्राउन सुगर कारोबार गरेको आरोप लागेको छ । यसको मूख्य कारोबारी पनि पक्राउ परेका छन् । न्यूरोडबाट नजिकै जाल्पारोड स्थित एक घरको कोठाबाट राना, युवतीसहित गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

युवामाझ चर्चा कमाएका लाउरे अहिले रियालिटी शो हिमालय रोडिजका निर्णायकका रुपमा ब्यस्त पनि थिए ।

‘ताण्डव’ फिल्मका नायक समेत उनले र्‍यापसहित केही फिल्ममा ओएसटी पनि गाएका छन् । स्व. र्‍यापर यमबुद्धका मिल्ने साथी लाउरे र्‍याप ब्याटलबाट उदाएका र्‍यापर हुन् ।

पोखराकाे नयाँबजार घर भएका लाउरे यसअघि विवादमा आएका थिएनन् । भिटेन, साकार जस्ता समकालीनहरू विवादमा छाइरहँदा उनी विवादबाट बाहिरै थिए । नेपहपको बाटो, हाउडे, मेरो सोल्टा, तीतो सत्य, चुप लाग, सुपर रागा, दुई रुपैयाँ जस्ता गीतहरू उनका चर्चित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds