‘लाहुरे’ले ड्रग्स सेवन गर्ने स्वीकारे, प्रहरीसँग भने– ‘ड्रग्स नखाई कार्यक्रममा जान सक्दिनँ’

‘लाहुरे’ले ड्रग्स सेवन गर्ने स्वीकारे, प्रहरीसँग भने– ‘ड्रग्स नखाई कार्यक्रममा जान सक्दिनँ’

laure

पोखरा । ‘लाउरे’ नामले चर्चित र्‍यापर आशीष राना मगरले आफू लागुऔषध प्रयोगकर्ता भएको स्विकारेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्विकार गरेका हुन् ।

उनी बुधबार बेलुकी पोखराको न्यूरोड नजिकै जाल्पारोडको एक घरको कोठाबाट पक्राउ परेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याउने क्रममा युवतीसँगै रहेका र्‍यापर लाउरे र अन्य दुई युवक पक्राउ परेका हुन् । उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । उनीहरुको साथबाट झण्डै १४ ग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो ।

श्रोतका अनुसार लाउरेले बयानमा भनेका छन् – ‘म ड्रग्स नलिई कार्यक्रममा जान सक्दिनँ, स्टेज पर्फमेन्स गर्न सक्दिनँ ।’

कास्की प्रहरीले लाहुरे विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिइसकेको छ । बिहीबार तमु ल्होसारको बिदा परेको कारण शुक्रबार लाउरेको म्याद थपेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । लाउरे कास्की प्रहरीको हिरासतमै छन् ।

५ वर्षसम्म जेल जाने सम्भावना

कारोबार पुष्टि भएको अवस्थामा र्‍यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना छ । प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्‍यापर लाउरे ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो ।

लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ । बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

तर यदि र्‍यापर लाउरेले कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।

र्‍याप गाएर चर्चा कमाएका लाहुरे रियालिटी शो हिमालय रोडिजको निर्णायक पनि हुन् । ताण्डव फिल्ममा अभिनयदेखि फिल्महरुमा समेत ओएसटी गाएका लाउरे स्व. र्‍यापर यम बुद्धका मिल्ने साथी थिए । उनी ‘र बार्ज’ को ब्याटलबाट उदाएका र्‍यापर हुन् ।

पोखराको नयाँबजार घर भएका लाउरे यसअघि विवादमा आएका थिएनन् । भिटेन, साकार जस्ता समकालीन र्‍यापरहरू विवादमा छाइरहँदा उनी विवादबाट बाहिरै थिए । नेपहपको बाटो, हाउडे, केस नं. ४२०, मेरो सोल्टा, तीतो सत्य, चुप लाग, सुपर रागा, दुई रुपैयाँ जस्ता उनका चर्चित गीतहरू छन् ।

सम्बन्धित समाचारः

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ