पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट कृष्णबहादुर थापाले टिकट पाएका छन् । सुरुमा अरुले पाएको टिकट उम्मेदवारी दर्ताको अन्तिम दिन बिहान सोमबार उनको पोल्टामा परेको हो । पार्टीकै पदाधिकारी टिकट दिन नहुने पक्षमा लागिरहँदा थापा अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परेका हुन् ।
२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भएका थापा फेरि पोखरा हाँक्ने दौडमा लागेका छन् । उनको जन्म १६ चैत २०१६ मा कास्कीको बाटुलेचौरमा भएको हो । शिक्षामा स्नातक गरेका थापा स्वास्थ्यका पनि विद्यार्थी हुन् । थापाले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सि.एम.ए (कम्युनिटी मेडिकल असिस्टेन्ट)पढाइ पूरा गरेका छन् ।
निरन्तर राजनीति
२०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थापाले आफ्नो पूरै जीवन राजनीतिमै बिताएका छन् । २०५४ सालमा पोखरा उपमहानगरपालिकाको प्रमुख भएका थापा फेरि पोखरा हाँक्ने दौडमा जुटेका छन् । २०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी राजनीतितर्फ तानिएका थिए । २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव भएका थिए ।
२०४० सालमा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित भएका थिए । २९ भदाै २०४१ मा तत्कालीन नेकपा (माले)बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौँ जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिए । २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा उनले सम्हालेका थिए । थापा २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताए । तत्कालीन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताएका थिए ।
उनी २०४६ सालको जनआन्दोलनमा वाममोर्चा गण्डकीको सदस्य भए । २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए ।
२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौँ कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिति सदस्य भएका थिए । २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएर काम गरेका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए । कास्कीमा वाम गठबन्धनबाट विजयी खाता खोलेका थापा प्रदेशसभा छोडेर मेयर हुन जुटेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’