पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता बिमल बहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पोखरामा नेकपा एकीकृत समाजवादीलाई मेयर दिने सहमति गठबन्धनका केन्द्रीय नेताबीच भएको थियो । तर, कार्कीले केन्द्रीय निर्णयविपरीत दिएको उम्मेदवारी फिर्ता लिएनन् ।
शुक्रबार उम्मेदवारी फिर्ता लिने समयसम्म मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसकै दुई नेता ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी झिके । तर, कार्कीले पार्टीको निर्देशन अवज्ञा गर्दै उम्मेदवारी यथावत राखेका छन् ।
उम्मेदवारी नझिकेसँगै उनी पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतः पार्टीबाट निष्कासन भएका छन् । उनी २०५५ सालमा तरुण दलमा लागेर कांग्रेससँग जोडिएका थिए । अहिले पार्टीले कारबाही गर्ने चेतावनी दिँदादिँदै कार्की टसमस भएनन् ।
प्रस्तुत छ, पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कार्कीसँग गरिएकाे संक्षिप्त कुराकानीः
पार्टीको निर्देशन लत्याएर उम्मेदवारी दिनुभयो । किन ?
म पार्टीको इमान्दार कार्यकर्ता हुँ । तर, पार्टीले गलत निर्णय गर्दा म समर्थन् गर्न सक्दिनँ । नेतृत्वले गलत गर्छ भने कार्यकर्ताले त्यसको प्रतिवाद गर्नुपर्छ भनेर वीपी कोइरालाले भन्नुभएको छ । त्यसकारण पोखरा महानगरपालिकामा कांग्रेसको उम्मेदवार नहुँदा र कांग्रेसीले कहाँ भोट हाल्ने भइरहँदा बागी उम्मेदवारी दिएको हुँ ।
पार्टीले स्वतः निष्कासन भनेको छ । भनेपछि अब स्वतन्त्र रहने हो ?
पार्टीले कारबाही गर्छ भने के पो लाग्छ र ! स्वतन्त्रै भइन्छ ।
पार्टीले निष्कासन गर्ने निर्णय गरेको सुन्दा डर लागेन ?
विज्ञप्ति निकालिएको छ भन्ने सुनेँ । नेतृत्वले पहिलाको चुनावमा गोरखामा आँखा चिह्नमा, मकवानपुरमा गाईमा, चितवनमा हँसियाहतौडामा भोट हाल्न भन्यो । अहिले फेरि पोखरामा कलम चिह्नमा भोट हाल्न भनेपछि कार्यकर्ता कहाँ मान्छन् ? नेतृत्वले गलत निर्णय गर्छ भने कार्यकर्ता मान्नुपर्छ भन्ने छैन । नेतृत्वको मलद्वारलाई हरिद्वार मान्न सकिँदैन । गलत निर्णयलाई गलत भनिन्छ । पार्टीले गलत निर्णय गर्दा मैले सच्चा निर्णय गरेको छु । त्यसैले पार्टीसँग मलाई डर छैन ।
तपाईंकै दुई जना कांग्रेसका सहयात्री उम्मेदवारी झिकेर पछि हट्नुभयो । तपाईंलाई केन्द्रीय नेताबाट दबाब आएन ?
मेरो साथीहरूसँग बसेर मलाई समर्थन गर्नुस्, म उम्मेदवार हुन्छु तपाइँहरू छोड्नुस् भनेर साथीहरूलाई छुटाएको हो । नगर सभापति लडेको मान्छे, पार्टीका विभिन्न तहमा बसेर काम गरेको मान्छे स्वतन्त्र लड्दा छोड्नुस् भनेर दबाब आउनु स्वाभाविक हो ।
उम्मेदवारी फिर्ता लिनुभएन । ३० वैशाख केन्द्रित तयारी कसरी गर्दै हुनुहुन्छ ?
मैले २० दिन पहिल्यै उम्मेदवारी दिँदै छु भनेर साथीहरूलाई भनिसकेको थिएँ । सबै साथीहरू मेरो उम्मेदवारीले खुसी हुनुहुन्छ । कांग्रेसका साथीले आफ्नो उम्मेदवारलाई भोट हाल्न नपाएपछि म स्वतन्त्र भएकाले मलाई भोट आउँछ । कांग्रेस मात्रै होइन परिवार दल, वैदिक सनातन हिन्दु धर्ममा आबद्धले सहयोग गर्नुभएको छ ।
स्वतन्त्र उठेर चुनाव जित्नुहुन्छ ?
चुनाव जित्छु भनेरै उम्मेदवारी दिएको हुँ । पोखरेली जनता सबैले मलाई भोट हाल्नुहुन्छ ।
घोषणापत्रको तयारी के छ ? के कुरालाई प्राथमिकता दिनुभएको छ ?
घोषणापत्रको तयारीमा जुटेको छु । अहिलेजस्तो स्मार्ट सिटी, रेल बनाउँछु भन्ने कुरा मेरो घोषणापत्रमा हुँदैन । पोखराको पर्यटनलाई कसरी विकास गर्ने भन्ने योजनामा जोड दिन्छु । कति ठाउँमा खानेपानीको समस्या छ, स्वास्थ्य, शिक्षाको समस्या छ । पोखराका चोकमा ट्राफिकको समस्या छ, यसलाई व्यवस्थित गर्ने योजना ल्याउँछु । चुनाव जितेँ भनेँ महानगरमा भएको भ्रष्टचारको फोहोर सफाइ गर्छु ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’