स्मार्ट वालिङ बनाउन जनताले रोजे ‘एमाले’

स्मार्ट वालिङ बनाउन जनताले रोजे ‘एमाले’

Waling mayor

स्याङ्जा, ७ जेठ । पहिलो स्थानीय तह निर्वाचनपछि चर्चामा रहेको एउटा नगर हो ‘वालिङ नगरपालिका’ ।

स्याङ्जामा कांग्रेसको गढ मानिने यो नगरपालिकामा पहिलो नगरप्रमुखका रूपमा काँग्रेसका दीलिप प्रताप खाँण चुनिए । वालिङलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेर चुनाव जितेका खाँणले राम्रा काम गर्दै उत्कृष्ट नगरपालिकाका रूपमा राष्ट्रिय सम्मान पनि प्राप्त गरे ।

उनले चाहेका धेरै काम भने गर्न सकेनन् । स्मार्ट वालिङ बनाउन उनले २४ अर्ब रूपैयाँ खर्च लाग्ने गरी २० वर्षीय योजना बुनेका छन् । दोस्रो कार्यकालमा थप काम गर्ने भन्दै पुनः निर्वाचनमा होमिएका खाँणलाई जनताले भने अनुमोदन गरेनन् । अब वालिङ बनाउने जिम्मा नेकपा एमालेलाई सुम्पिएका छन् ।

यो निर्वाचनमा वालिङ नगरपालिका प्रमुखमा नेकपा एमालेका कृष्ण खाँड र उपप्रमुखमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । २०५४ सालमा उपमेयरमा र २०७० सालको संविधानसभा निर्वाचनमा होमिँदा पराजित भएका कृष्णलाई वालिङ बनाउने जिम्मा त्यहाँको जनताले दिएका हुन् ।

कृष्णले १३ हजार ७७६ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी दिलिप प्रताप ११ हजार ५९३ मतमा सीमित भए । नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेसकी तिवारीले एमालेकी उम्मेदवार खगिसरा थापामगरलाई ४ सय ८२ मतले अन्तरले हराइन् । तिवारीले १२ हजार ८२२ मत प्राप्त गरिन् भने थापाले १२ हजार ३४० मत ल्याइन् ।

नवनिर्वाचित वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जनताले आफूलाई अझै बढी उत्कृष्ट ठम्याएर जिताएको बताए । जनताको लागि आफू शासक होइन, सेवक भएर काम गर्ने भन्दै अब आफू सबै वालिङबासीको साझा जनप्रतिनिधि बनेको बताए ।

निवर्तमान प्रमुखको पालामा शुरू भएको स्मार्ट सिटी बनाउने योजनालाई मूर्त रूप दिइने उनले बताए । अघिल्लो पाँच वर्षमा स्मार्ट सिटी भनेर बजार क्षेत्रमा मात्र जोड दिइएकोमा अब आफूले विकास गर्दा सहरबाट गाउँ नभई गाउँबाट सहरको नारा लिएर काम गर्ने उनको योजना छ ।

पाँच वर्ष अघि नै स्वच्छ र सफा वालिङका लागि फोहोर व्यवस्थापनको रणनीति बनिसकेकाले यसअघिको प्रमुखलाई फोहोर व्यवस्थापनमा सहज भएको उनको ठम्याई छ । खाँणले सडक निर्माण कार्यलाई प्रथामिकता दिने कुरालाई जोड दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर वालिङका नागरिकलाई समृद्ध र सुखी बनाउनका लागि कृषि पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने, उत्पादन प्रशोधन र बजारीकरणको व्यवस्था गर्ने, उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्ने, प्रविधिको औजारीकरण, सिचाँई योजना विस्तार गर्ने कार्यहरू गर्ने उनको योजना छ ।

 जिल्लामा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । कूल ११ स्थानीय तह रहेको यो जिल्लामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले ६ स्थानीय तह जित्दा काँग्रेस ५ स्थानीय तह जित्यो ।

एमालेले एउटा नगरपालिकामा प्रमुख र ५ वटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको हो । काँग्रेस महागठबन्धनको बलमा ४ वटा नगरपालिकाको प्रमुख, पाँचै नगरपालिकाका उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको हो ।

नेकपा एमालेले वालिङ नगरपालिकाको प्रमुख, आँधिखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, फेदीखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, विरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, हरीनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एक्लै जित्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ