मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि

मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि

Tara Air 9NET

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको ३ घण्टापछि दुर्घटना भएको पुष्टि गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले यसको पुष्टि गरेका हुन् ।

एपीवान टेलिभिजनसँगको कुराकानीमा प्रवक्ता कँडेलले भने– ‘यो जहाजको अवस्था भन्नुपर्दा दुर्घटना भइसकेको र दुर्घटनास्थल पनि पत्ता लागिसकेको अवस्था छ । घाँसादेखि अगाडि बढेपछि लेते आउँछ । लेतेबाट अलिकति अघि गएपछि लार्जुङ भन्ने ठाउँमा बायाँपट्टी खोँचमा दुर्घटना भएको छ । मौसम खराबी कारण हेलिकोप्टर ल्याण्ड हुन सकेको छैन । जमिनबाट नै नजिकको प्वाइन्टबाट सुरक्षाकर्मी जानुभएको छ । तर, दुर्घटना भएकै ठाउँमा पुग्न सक्ने अवस्था छैन ।’

मुस्ताङको घाँसा स्थित टिटी तालभन्दा पारी हिमाली रेञ्ज सुरु हुने स्थानमा दुर्घटना भएको हाे । लेते थासाङ गाउँपालिकामा पर्छ। लार्जुङ भन्ने ठाउँ थासाङकाे वडा नं. २ क्षेत्र हाे ।

९ः५५ मा उडेको विमान १८ मिनेटपछि नै सम्पर्कविहीन भएको उनले जनाए । १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज ८ मिनेटअघि सम्पर्कविहीन भएको देखिन्छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार घोडेपानी भन्ने ठाउँबाट अन्तिम पटक १० बजेर ७ मिनेटमा जोमसोम टावरसँग सम्पर्कमा आएको उक्त जहाज त्यसपछि सम्पर्क विच्छेद रहेको जनाए ।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ।

प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पनि ताराको ९ एनएईटी कलसाइनको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको थियो । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।

विमान लेते क्षेत्रमा २ पटक घुमेको थियो

विमान म्याग्दी कटेर उकालो लागेपछि बेपत्ता भएको बताइएको छ । मुस्ताङ लेते क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिएका छन् । त्यो ठाउँमा बादल टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको अवस्था छ । लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट ल्याइएको हो भने मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ। तर चारपटक सम्म घुम्दा पनि दुर्घटनास्थल नजिकै हेलिकोप्टर जान नसकिएको बताइएको छ ।

पोखरा तथा आसपासका क्षेत्रमा आज बिहानदेखि नै मौसम खराब छ। तर यसअघि बिहान समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो।

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य, ४ भारतीय र २ जना जर्मनसहित ६ विदेशी र अन्य १३ जना नेपाली यात्रु गरी २२ जना सवार थिए ।
चालक दलका सदस्यहरु :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. को–पाइलट उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर

सम्बन्धित समाचारः

पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds