पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]

पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]

Kanji House Pokhara

पोखरा महानगरपालिका वडा नं. १४, बाच्छेबुडुवामा अवस्थित ल्याण्डफिल साईट नजिकै टिनको टहरोले बनाइएको छ कान्जी हाउस, अर्थात्, छाडा चौपायालाई आश्रय दिएर राखिने स्थान । तर, पोखराको यो कान्जी हाउसमा पुग्दा लाग्छ; कुनै आश्रय स्थल होइन, चाैपाया भोकभोकै मारेर गिद्धलाई सिनाे खुवाउन बनाइएकाे स्थान ।

पोखरा महानगरपालिका कार्यालयले एक हप्ता अघि जेठ २६ गते एकैदिन ३७ वटा छाडा चौपायालाई पोखराको सडकबाट उठाएर कान्जी हाउसमा लगेर राखियो भनेर सगर्व प्रचार गरेको थियो । तर, ती चौपायासहित झण्डै डेढ सय गाईबहरको अवस्था हेर्दा कान्जी हाउस कुनै नर्कभन्दा कम देखिँदैन । त्यहाँ गएर हेर्ने हो भने ३ दिन अघि ३ वटा गाई मरेको अवस्थामा लडिरहेको थियो । सड्न लागेकाे गाईसमेत व्यवस्थापन भएको छैन । सबै भोकभोकै थिए । कम्पाउण्डमा हरियो भन्ने चीज छैन । तिर्खाउँदा पानी खानसमेत पाएको छैन । वर्षातकाे बेला छ, गोबरले हिलाम्मे छ ।

पोखरा महानगरपालिका हाँक्न धनराज आचार्य आएपछि छाडा चौपायामुक्त शहर बनाउने प्रतिबद्धता अनुरुप सडकका गाईगोरु व्यवस्थापन गर्ने काम सुरु त गरियो तर कान्जी हाउस लगेर छाडेका गाईको व्यवस्थापनमा थोरै ध्यान समेत उनले दिएनन् ।

यसअघि, महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने जानकारी दिएका थिए । तर, सडकमा मात्र चौपाया खोज्ने काम भयो । कान्जी हाउसमा लगेर राखिएको गाई हेर्ने कोहि भएनन् ।

ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनेको छ । तर, त्यहाँ राखिएका चौपाया हेर्ने कर्मचारी देखिँदैनन् । ल्यान्डफिल साईडमै कार्यरत कर्मचारीहरुले चौपायाको निरीक्षण गर्ने गरी कान्जी हाउस सञ्चालनमा ल्याइएको थियो ।

अघिल्लो जनप्रतिनिधि चुनिँदा नै सडकका छाडा चौपाया व्यवस्थापन प्रमुख मुद्दा बनेको थियो । मानबहादुर जिसी मेयर निर्वाचित भएपछि १८ महिनापछि मात्रै बाच्छिबुडुवामा छाडा चौपाया व्यवस्थापन गर्ने तयारी गरेको थयो । अहिलेको कान्जी हाउस सोहि बेला पूराना टीन प्रयोग गरी टहरा निर्माण गरी बनाइएको हो ।

छाडा चौपाया व्यवस्थापनका लागि महानगरले १५, १७, २५ र ३१ नं. वडामा सम्भावित क्षेत्रमा अध्ययन गर्दा उपयुक्त स्थान नपाउँदा बाच्छिबुडुवामा पाँच लाख खर्चेर तारबार गर्ने काम गरेको थियो । चौपायालाई ट्यागिङ प्रणाली अन्तर्गत लगत राख्ने तयारी समेत सुरु भएको थियो । पृथ्वीचोक कृषि उपज बजारसँगैको दमकल हाउस भित्र मिनी कान्जी हाउसको पनि व्यवस्था गरिएको थियो ।

कास्कीका ग्रामिण भेगमा पालिएका गाई दुध दुहुन्जेल राख्ने र थारो भएपछि बजारतिर लखेटिँदा पोखरा महानगरमा छाडा चौपाया समस्या देखिदैँ आएको छ । यस्ता अधर्मी काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नसकिएको अवस्था छ । सडकमा चौपाया छाड्ने समस्याको दीगो समाधान गर्न पनि महानगर असफल छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds