पोखरा महानगरपालिकाले सडकका छाडा चौपायालाई नियन्त्रणमा लिएर कान्जी हाउसमा लगेर राखेको छ । तर, त्यहाँ रहेका झण्डै डेढ सय गाईगोरु घाँसपानीको अभावले भोकै मर्न बाध्य छन् । न खाने पानीको व्यवस्था नत घाँस पराल नै । दुई दिनअघि सम्म त मरेका गाईगोरुसमेत व्यवस्थापन भएको थिएन ।
पोखरा १४, बाच्छेबुडुवामा अवस्थित कान्जी हाउसको दुर्गतिको भिडियो तस्वीर खिचेका अमृत पोखरेलको सहयोगमा गण्डकन्यूजले समाचार प्रकाशन गरेपछि भोलिपल्टै गोबरको आहाल हटाइएको छ । ३ वटा गाईगोरु मरेको र मर्न लागेको अवस्थामा रहेकोमा मरेका गाईगोरुको व्यवस्थापन गरिएको छ । एउटा रातो गाई मर्न लागेको अवस्थामा अहिले पनि लडिरहेको छ ।
समाचार र भिडियो प्रकाशन प्रसारण भएपछि ३ दिन अघि भन्दा केही सफा पारिएको छ । केही पराल लगेर गाईगोरुलाई खुवाएको देखियो । तर, गाईले खाने घाँसको व्यवस्था भएको छैन । भोलिपल्टै भएका यति काम पनि पोखरा महानगरबाट नभएको स्थानिय बताउँछन् । परोपकार संस्थाका बटुकहरु पुगेर सफा गर्ने, गोबरको आहाल हटाउने काम गरेका हुन् ।
पोखरा महानगरबाट दीगो व्यवस्थापनका लागि कुनै पूर्वाधार तयार भएको छैन भने कर्मचारी व्यवस्थापन पनि भएको छैन । महानगरको फोहोरमैला शाखाकै कर्मचारीलाई हेर्न भनिएको जानकार बताउँछन् । गाईगोरु सबै भोकभोकै आँखाबाट आँशु चुहाएको अवस्थामा देखिन्छन् । कम्पाउण्डमा हरियो भन्ने चीज छैन । वर्षात्को बेला गोबरले हिलाम्मे हुने अवस्था छ ।
पोखरा गौशालाको चासो
पोखरा १५, मझुवामा सञ्चालित पोखरा गौशालाका प्रमुख सञ्चालक नरेन्द्र कुँवरले स्थानीय जातका गाईगोरुलाई आफ्नो गौशालामा आश्रय दिने भन्दै चासो व्यक्त गरेका छन् । कुँवरकै अग्रसरतामा गत वर्ष मंसीर २९ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा संस्था दर्ता गरी पोखरा गौशाला सञ्चालित छ ।
पेशाले कम्प्युटर ईञ्जिनियर कुँवर साढे ३ वर्ष अघि नेपाल फर्किएर अमृत धारा एग्रो अर्गानिक सोलूशन प्रालि सञ्चालन गरेका थिए । यस प्रालिले गाईगोरुको मलमुत्रबाट औषधि, मल, धुप बनाएर बेच्ने काम थालेको थियो । तर, कोरोनाका कारण चलाउन नसकेपछि कम्पनी बन्द गरियो । सोहि पूर्वाधारलाई सदुपयोग गर्दै स्थानियहरु सामूहिक रुपमा अग्रसर भई पोखरा गौशाला संस्था सञ्चालन गरेका हुन् । अहिले पोखरा गौशालामा तीन दर्जन बढी स्थानीय जातका गाई गोरु छन् ।
प्रतिष्ठित टाटा कम्पनीमा कम्प्युटर ईञ्जिनियर रहेको बताउने कुँवर स्थानिय जुरो हुने गाईगोरुको संरक्षणका लागि नेपालमै फर्किएको बताउँछन् । ‘गाईगोरुको संरक्षण पनि हुने र यसको महत्व कति छ भनेर बुझाउन पनि मलमुत्रको व्यवसायिक गतिविधिमा जोडिएको हुँ । गाईको गहुँत प्रशोधन गरी पोखरामा ५०० लिटर विक्री हुन्छ । गाईको मललाई गड्यौला मल बनाएर ५० रुपैंया किलो बेच्न सकिन्छ । जडीबुडी खेती, सिस्नो, लेमनग्रास, रोजमेरी खेती हुन्छ । कोरोनाका कारण नोक्सान भयो, प्रालि सञ्चालन गर्न छाडेँ ।’ कुँवर भन्छन् – ‘भौतिक पूर्वाधारलाई उपयोग गर्दै गौपालन गर्न पोखरा गौशाला मिलेर दर्ता गरेका छौं । गत वर्ष गाईतिहारका दिनबाट सञ्चालन गर्ने गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरियो । गाईको दुध, गहुँतदेखि मलबाट अर्गानिक धुप बत्ती बनाउन सकिन्छ ।’
उनले धार्मिक महत्वसमेत बोकेको गाईगोरुको उपयोगी गुणको महत्व थाहा नपाउँदा कान्जी हाउसमा लगेर भोकभोकै मार्ने काम भएकोमा दुःख पोखे । ‘स्थानीय सरकारले गाईगोरुका लागि बजेट छुट्याउँदै आएको छ तर संरक्षण छैन । हामी संरक्षण गर्छौँ । स्थानीय जातका सबै पाल्छौँ । पालनपोषणमा सहयोग गरे ठूलो हौसला मिल्नेछ ।’ कुँवर भन्छन् ।
पोखरा गौशालाको फेसबुक पेज, टिकटकमा हालिएका भिडियो हेरेर सहयोगी मनहरुले मकै, पराल सहयोग पनि गर्दै आएका छन् । गाईलाई गर्भाधान गराउन गोरुको पालन गरिएको छ । जन्मिएका बाच्छाबाच्छीलाई पूजास्थल समेत लैजाने व्यवस्था गरेको छ । गौशालाको खर्च धान्न गोबर गहुँतका साथै गड्यौंला मलको विक्री, दुध, घिउको उत्पादन पनि धेरथोर भएको कुँवर बताउँछन् ।

विभिन्न संघसंस्थादेखि फार्म हाउसको चासो
गण्डकन्यूजबाट समाचार र भिडियो प्रकाशन प्रसारण भएपछि काठमाण्डौ, रसुवाका फार्महाउसदेखि राजनीतिक दलले पनि चासो देखाएका छन् । राप्रपा कास्कीले महानगरले कान्जीहाउसमा लगेर गाईगोरुलाई मृत्युदण्ड दिएकोमा चासो व्यक्त गरेको छ । प्रवक्ता अरुण गिरीले यसबारे पार्टीमा छलफल चलाइएको बताएका छन् ।
बेगनासतालबाट पर्यटन व्यवसायी दामोदरभक्त थापाले गाईगोरुलाई खुवाउने परालको व्यवस्थापनमा आफूहरु लागिपरेको जानकारी दिएका छन् ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका ३ मा रहेको कृषि तथा पशुपंक्षी फार्मबाट लाक्पा ग्याल्बू लामाले गाई गोरु आफ्नो फार्मसम्म ल्याउन पोखरा महानगरले सहयोग गरोस् भनेर सन्देश छाडेका छन् ।
सम्बन्धित समाचारः
पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]
पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’