प्रदेश चलचित्र विकास बोर्ड गठनको तयारीमा छाैँः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्ड गठनको तयारीमा छाैँः मन्त्री थापा

fja kaski (1)

गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको जानकारी दिएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवसीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।

‘प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा छ । आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको छ । चलचित्र विकास बोर्डको गठनका लागि आवश्यक ऐन निर्माण गर्ने गरी अगाडि बढिनेछ ।’ उनले भने ।

मन्त्री थापाले पोखरामा चलचित्र क्षेत्रको उन्नयनका लागि चलचित्र पत्रकार संघ कास्कीले उल्लेखनीय काम गरेको बताए । पोखरा चलचित्र नगरी भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई पनि उनले जोड दिए ।

चलचित्र क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै उहाँले चलचित्रका माध्यम पोखरा सँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । मन्त्री थापाले सिक्ने क्रम कहिल्यै नसकिने भएकाले सिकाईले नै मान्छेलाई सबल र सक्षम बनाउँदै लैजाने बताए ।

प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले सहजता सँगै समस्या पनि सिर्जना गरेका कारण चलचित्र पत्रकारहरुले यस्ता कार्याशालाबाट प्रविधिको सही प्रयोग गर्न सिक्ने र चलचित्र पत्रकारिता क्षेत्र मर्यादित र व्यवसायिक बन्न टेवा पुग्ने विश्वास लिएको बताए ।

कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल समेत बोलेका थिए ।

कार्यशालाको पहिलो दिन निर्देशक मनोज पण्डित र पत्रकार सुरेश रानाभाटले सहजीकरण गरेका छन् । दोस्रो दिन पण्डितसँगै पत्रकारहरु वासुदेव मिश्र र केशवशरण लामिछानेले सहजीकरण गर्नेछन् । कार्यशालामा २ दर्जन बढी रंगपत्रकारहरू सहभागी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ