अन्योलमा प्याराग्लाइडिङ : पोखराको गहना जान्छ कि भन्ने सबैलाई चिन्ता छ’ – गणेश ब.भट्टराई

अन्योलमा प्याराग्लाइडिङ : पोखराको गहना जान्छ कि भन्ने सबैलाई चिन्ता छ’ – गणेश ब.भट्टराई

ganaesh bdr-bhattrai

पोखरा। पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै पर्यटन व्यवसायीमा चिन्ता थपिएको बताएका छन्।

नेपाल हवाई खेलकुद संस्थाको नवनिर्वाचित कार्यसमिति पदस्थपना र शपथ ग्रहण कार्यक्रम तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको भविष्य विषयक अन्तरक्रियामा बोल्दै व्यवसायी भट्टराईले निकै ठुलो धनराशि खर्चेर धेरै व्यवसायी यस क्षेत्रमा लागेकोमा अहिले आएर विस्थापित भइने चिन्तामा व्यवसायी रहेको बताए।

भट्टराईले पोखराको गहनाको रूपमा रहेको प्याराग्लाइडिङ व्यवसायलाई जोगाउन पहिले पर्यटन व्यवसायीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले विमानस्थल निर्माण गरेर चीनको कम्पनी फिर्ता गइसकेको अवस्थामा अहिलेसम्म फोहोरको व्यवस्थापन, नाला निर्माणको व्यवस्थापन र डाँडो काट्ने काम सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले मित्र राष्ट्र चीन र भारतसँग सम्भावना हुँदाहुँदै पनि सरकारी उदासीनताका कारण त्यसको फाइदा लिन नसकेको आरोप लगाए। नेताहरूमा चेतनाको विकास हराएका कारण भ्रष्ट्राचार बढेको भन्दै भट्टराईले यही भद्रगोल तन्त्रका कारण व्यवसायीहरू पनि डुबिन्छ कि भन्ने चिन्तामा रहेको बताए। उनले मन्त्रालय र नेपाल टुरिजम बोर्डको झगडाका कारण अहिले व्यवसायीहरू अप्ठेरोमा परेको बताए।

यस्तै, पूर्व अध्यक्ष योगेश भट्टराईले विकास सँगसँगै विनाश हुन्छ भन्ने स्वीकार गरिए पनि विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित भएको खण्डमा झन्डै ३५० बढी प्यारा पाइलट सँगै प्रत्यक्ष अप्रत्यक्ष यस क्षेत्रसँग सम्बन्धित हजारौँ मानिसको चुलोमा आगो निभ्ने अवस्था आउन सक्ने बताए। उनले पछिल्लो समय ट्रेकिङ रुट बिग्रँदै जाँदा ट्रेकिङमा आउने पर्यटक घट्दै गइरहेको भन्दै कुनै बेला पोखराको प्रमुख पर्यटकको आकर्षण रहेको र्‍याफ्टिंग व्यवसाय नै धरापमा रहेको बताए। उनले अगाडि भने – “अहिले फेरी प्याराग्लाइडिङ विस्थापित हुने कुरा आइरहेको छ, यदि यो पनि हट्यो भने पोखराबाट हामीले पर्यटकलाई के सेल गर्ने ? पर्यटकलाई दिन हामीसँग के रहन्छ ?” भट्टराईले प्रतिप्रश्न गरे।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष सुनिल बहादुर भट्टराईले आगामि कार्ययोजना बारे बताएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ