अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको आरोपमा छ जना पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको आरोपमा छ जना पक्राउ

exam arrest

काठमाडौं। अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका-७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ, काठमाडौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका २९ वर्षीय रोहित मगर, काठमाडौं मित्रनगर बस्ने प्यूठान, प्यूठान नगरपालिका-८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर, काठमाडौं बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका-६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र काठमाडौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका-१० घर भएका २८ वर्षीय शिब सुनार रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं कपुरधारास्थित सडकबाट बनस्थली बस्ने ओखलढुङ्गा चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भएका १ जना नेपाली नागरिक र काठमाडौं लाजिम्पाटस्थित खरेलटोलबाट १ जना चिनियाँ नागरिक समेत गरी दुबै जनालाई केही व्यक्तिहरूले लिई गएको र चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद लिएर आउन भनेको सूचना प्राप्त भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो । साथै घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो ।

उनीहरू माथि अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थपको अनुमती लिएर जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ