‘सन्दिपले ३०५ नम्बर कोठामा राति ११:५५ र १२:२५ बजे बलात्कार गरे’

‘सन्दिपले ३०५ नम्बर कोठामा राति ११:५५ र १२:२५ बजे बलात्कार गरे’

Sandeep 000

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्‍तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी बृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामिछानेले भदौ ५ गते काठमाण्डौ र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर काठमाडौँमा ल्याइ एक होटेलमा राखेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । काठमाडौँ-९ स्थित एक होटेलको कोठा नम्बर ३०५ मा सोही राति पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । ‘रातको अं. २३:५५ बजे र रातको अं. ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ’ जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । जाहेरीउपर जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले संयुक्तरूपमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ ।

अभियोग पुष्टि भए १२ वर्षसम्म जेल सजाय हुनसक्ने

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ । पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन् । त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छन् ।

नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ ।

‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने युसको उपदफा (२) मा भनिएको छ ।

‘घटनास्थल फरकफरक भएकाले यो अभियोग पनि आकर्षित हुनसक्छ, यद्यपि यो अनुसन्धानपछि टुंगिने विषय हो,’ काठमाडौं प्रहरीका एक अधिकृतले भने । यदि उनीविरुद्ध बालयौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । ख्यातिको आडमा बलात्कार भएको उस्तै प्रकृतिको घटनामा मंगलबार मात्रै अभिनेता पल शाहलाई अदालतले साढे २ वर्ष कैद सजाय तोकेको छ ।

पीडितले बयान फेरेपछि उनलाई जबरजस्ती करणीमा अदालतले सफाइ दिएको छ भने बालयौन दुरुपयोगको कसूरमा दोषी ठहर गरेको हो ।

पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने

लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको हो।

कानुनी प्रक्रिया पुर्‍याएर प्रहरीले सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए। ‘कानुनी काम पूरा गरेर हामी पक्राउ पुर्जी जारी गर्न अदालत जान्छौं। कागजातको काम छन्,’ उनले भने, ‘सम्भवत: आजै पुर्जी जारी गर्न अदालत जान्छौं वा भोलि पनि जान सक्छौं।’

कुनै पनि घटनामा आरोप लागेका वा सम्बन्धित मानिसलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतसँग अनुमति माग्नुपर्ने कानुनी प्रावधान छ। प्रहरीले घटनास्थलबाट मुचुल्का उठाउने काम पनि गरिरहेको जनाएको छ।

सन्दीपको विषयमा क्यानमा आज साँझ छलफल हुने

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको पछिल्लो घटना क्रमका विषयमा छलफल गर्ने भएको छ । क्यानको मुख्य कार्य सम्पादन टोलीले पछिल्लो विषयमा आज साँझ छलफल गर्ने भएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

मल्लले प्रहरीको अनुसन्धानमा क्यानले सबैखाले सहयोग गर्ने बताए । ‘लामिछानेलाई गम्भीर आरोप लागेको छ । खेलाडीको बारेमा संवेदनशील विषय आएको छ । प्रहरीको अनुसन्धानमा क्यानले हरेक कोणबाट सहयोग गर्छ,’ मल्लले भने ।

उनले लामिछानेको बारेमा थप निर्णय कार्य सम्पादनको बैठक बसेर लिने जानकारी गराए । ‘अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ बेलुका सम्म आउनु हुन्छ । क्यानको बैठक भन्दापनि मुख्य कार्यसम्पादनको टोलीको छलफल हुनेछ,’ मल्लले भने । मल्लले सन्दीपको बर्खास्तिको विषयमा भने अहिले कुनै कुरा नहुने बताएका छन् । ‘प्रहरीमा उजुरी परेको छ । छानविन भएर केही तथ्य आउछ होला अनि क्यानले निर्णय गर्नेछ,’ मल्लले भने ।

घटना के हाे ? 

केन्या जानु अघिल्लो रात के भएको थियो ? (घटना विवरण)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ