नेतालाई गाली गरेर मात्रै होईन, मत बदलेर मात्रै देशको अवस्था बदल्न सकिन्छ: राजेन्द्र लिंग्देन

नेतालाई गाली गरेर मात्रै होईन, मत बदलेर मात्रै देशको अवस्था बदल्न सकिन्छ: राजेन्द्र लिंग्देन

aaaaaa-1024×768

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनले जनताको मुहारमा हाँसो र खुशी ल्याएर मात्रै आफू मर्ने बताएका छन् । जनता अहिले पीरमर्कामा भएको र यसको कारण अहिलेका ठुला भनिएका राजनीतिक दल भएको बताउँदै लिंग्देनले राप्रपा मात्रै जनताको दुख बुझ्ने पार्टी भएको दाबी गरे ।

बुधबार स्यांग्जाको पुतलीबजार नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देशमा गरिखाने वातावरण नबन्दा सम्म जनताको भाग्य पनि नबन्ने ठोकुवा गरे । जनताले मत परिवर्तन नगर्दासम्म गरिखाने वातावरण नबन्ने भन्दै उनले राम्रो मान्छे र राम्रो पार्टीलाई आगामी चुनावमा जिताउन आग्रह गरे । ‘भाग्यलाई दोष दिएर मात्रै हुँदैन । साँच्चै परिवर्तन चाहने हो भने तपाईले आफ्नो मत परिवर्तन गर्न जरुरी छ ।’ उनले भने -‘चुनावमा राजनीतिक नेतृत्व चयन गर्दा सबैभन्दा चनाखो हुनुपर्ने बेलामा प्रलोभनमा परि सजिलै गलत मान्छेलाई भोट हाल्दा सबैले दु:ख भोग्नुपरेको छ ।’ उनले त्यसैकारण यो पटक जनतालाई कसैको प्रलोभनमा नपर्न र सोँचेर, बुझेर मात्र मतदात गर्न आग्रह गरे ।

तीन दशकमा संसारका कैयन् गरिब मुलुकहरुले आर्थिक रुपमा ठुलो फड्को मारिरहँदा नेपालमा अझै पनि झोलुंगे पुल अभावमा छटपटाउनुपर्ने अवस्था विद्यमान रहेको बताउँदै उनले यो अवस्था काँग्रेस र कम्युनिष्टहरुको कारणले आएको आरोप लगाए । ‘देशलाई तीन दशकसम्म नेतृत्व गरि भड्खालोमा हाल्ने यी काँग्रेस र कम्युनिष्टलाई फेरि भोट हालेर राष्ट्रदोहनमा सहभागी नहुन म सबैसमक्ष अपील गर्दछु ।’ उनले भने ।

जनताले यी दलहरुलाई भोट नदिने हो भने यीनीहरु देश बिगार्नका लागि सक्षम नहुने भन्दै उनले जनता पनि यो दोशको उत्तिकै भागिदार भएको उनले तर्क गरे । ‘यो देश बनाउन अब जनताले मत परिवर्तन गर्न जरुरी छ । नेतालाई गाली गरेर मात्रै होईन, मत बदलेर मात्रै देशको अवस्था बदल्न सकिन्छ । र, राप्रपाले यो कुराको वकालत गर्दै आएको छ ।’ उनले भने ।

राप्रपाले नेपालको राजनीतिमा एउटा सँस्कार बसाउन खोजेको उनले बताए । ‘राजनीति कुनै पेशाव्यवसाय होईन, उद्योग होईन, कुनै पेट पाल्ने सात पुस्ता सपार्ने माध्यम होईन । उनले भने राजनीति त देश सेवाको पवित्र माध्यम हो ।’ राप्रपाले त्यही निष्ठाको साथ राजनीतिक गर्न चाहनेको उनले दाबी गरे ।

बुधबार भएको कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश प्रमुख पञ्चराम गुरुङ, केन्द्रीय सदस्यहरु तोरणबहादुर गुरुङ, हिम्मतजंग कार्की र उदयराज पोखरेल, पूर्व उपसचिव मदनबहादुर कार्की, भूतपूर्व सैनिक संघका केन्द्रीय अधयक्ष प्रकाशजंग कार्की, महिला नेतृ छमकला कुँवरलगायतले शुभकामनासहित राप्रपालाई मत दिई विजयी गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ