‘पहिरो जाँदा राहत ल्याएको याद छ, भोट सूर्यमै दिन्छु’

‘पहिरो जाँदा राहत ल्याएको याद छ, भोट सूर्यमै दिन्छु’

uml ummedwar kaski 3 damodar bairagi and rajob pahari

पोखरा । कास्की नौडाँडाकी मोती परियार मंगलबार मध्यान्ह घरकै पिँढीमा थिइन् । त्यहीबेला कास्की ३ मा एमालेबाट प्रतिनिधिसभा उम्मेद्वार रहेका दामोदर पौडेल बैरागी र कास्की ३ (ख)का उम्मेद्वार राजीव पहारी पुगे । दुवैले मत मागे ।

६० वर्षीय मोतीको घरमा दुई वर्षअघिको पहिरोले क्षति पुगेको थियो । त्यतिबेला तत्कालीन प्रदेश सांसद पहारी खाद्यान्न र पाल लिएर मोतीको घर पुगेका थिए । मोतीले भोट माग्न आएका पहारीलाई चिनिहालिन् ।

आफूलाई दुःख पर्दा राहत लिएर आएको पार्टीका उम्मेद्वारलाई भोट दिने भन्दै मोतीले ढुक्क भएर जान आग्रह गरिन् । ‘पहिला पहिरो जाँदा राहत लिएर आउनुभएको याद छ । भोट सूर्यमै दिन्छु,’ मोतीले उम्मेद्वारसँग भनिन्, ‘जितेपछि मेरो घरको आँगन कसरी हुन्छ बनाइदिनु पर्‍यो ।’

अन्नपूर्ण गाउँपालिका पाउँदुर कोटकी देवीकुमारी गुरुङ मंगलबार भत्ता थाप्न नौडाँडास्थित बैंक आएकी थिइन् । त्यहाँ उम्मेद्वार बैरागी र पहारीसँग उनको भेट भयो । ७८ वर्षीय उनले आफूले सधैँ एमालेलाई भोट हालेको र यसपटक पनि हाल्ने बताइन् । ‘भत्ता दिने पार्टी हो भन्ने थाहा छ । कहिले यता, कहिले उता गर्ने मान्छे होइन । सधैँ एमालेलाई नै भोट हालेकी छु,’ उनले भनिन् ।

एमाले उम्मेद्वारद्वय बैरागी र पहारीले जनताका समस्या सुन्ने र त्यसलाई समाधान गर्ने वाचासहित आफ्नो चुनावी घरदैलो अभियानलाई जारी राखेका छन् । उनीहरू मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका १, २ र ३ का बस्ती–बस्ती पुगेका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटासहित स्थानीय नेता–कार्यकर्ता उम्मेद्वारसँगै घरदैलोमा थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds