कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा लगातार दोस्रो पटक एमाले नेतृ विद्या भट्टराई निर्वाचित भएकी छन् । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ साल फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि २०७६ सालमा कास्की–२ मा भएको उपनिर्वाचन जितेर विद्या पहिलोपटक संसद पुगेकी थिइन् ।
विद्यालाई अहिले पनि रवीन्द्रकै विरासतमा राजनीतिमा स्थापित भएकाे भन्नेहरू भेटिन्छन् । विद्यार्थी राजनीति हुँदै प्राज्ञिक क्षेत्रमा पनि उत्तिकै सक्रिय नेतृ भट्टराईले भने आफ्नो राजनीतिलाई पारिवारिक विरासतसँग मात्र जोडेर नहेर्न आग्रह गरेकी छन् ।
पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले नेतृ भट्टराईले आफू पारिवारिक जीवनबाट सामाजिक र राजनीतिक जीवनमा आइसकेकाले विरासतभन्दा पनि आफ्नो क्षमता हेरिनुपर्ने बताइन् ।
‘रवीन्द्रको विरासत एउटा परिचय हो । म त्यसलाई अस्वीकार गर्दिनँ । मलाई राजनीतिकर्मी, संसदको एउटा सदस्य मान्ने हो । जनताले विद्या भट्टराईलाई म्यान्डेट दिनुभएको छ,’ उनले भनिन्, ‘पारिवारिक विरासतको मेरो परिचय म गर्व गरेर स्वीकार गर्छु । तर, राजनीतिक हिसाबले मेरो पहिचान त्यो मात्रै होइन । राजनीतिमै साढे ३ दशक रहेकाे हिसाबले मेराे छुट्टै परिचय पनि छ । ’
रवीन्द्रको निधनपछि विद्या राजनीतिमा आएकी होइनन् । उनी विद्यार्थीकालदेखि नै सक्रिय थिइन् । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अनेरास्ववियुको सचिवसम्म भइसकेकी थिइन् । विद्या सचिव हुँदा रवीन्द्र महासचिव थिए । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या सक्रिय राजनीतिबाट टाढिएकी थिइन् । प्राध्यापनमा क्रियाशील विद्याले रवीन्द्रको निधनपछि उपनिर्वाचनमार्फत सक्रिय राजनीतिमा पुनरागमन गरेकी हुन् ।
आफूले जनताको पक्षमा गरेको काम हेरेर पहिलो परिचय दिइनुपर्ने नेतृ भट्टराईले बताइन् । अकल्पनीय घटनाले संसदमा आइपुगे पनि राजनीतिमा भने नयाँ नभएको उनको भनाइ थियो । ‘मेरो जीवनसाथी गुमाइरहँदाको पीडासँगै संसदीय राजनीतिमा म आउने कुरा एउटा पक्ष रहन्छ । अबको मेरो पहिचान त्यो पहिलो बन्दैन भन्ने लाग्छ,’ भट्टराईले भनिन्, ‘मेरो पहिलो परिचय भनेको मेरो काम, मेरो व्यवहार र जनताको विश्वासलाई आँच पुर्याउने काम नगरेको आधारमा गरिनुपर्छ भन्ने ठान्छु ।’ संसदमा आफ्नो क्षमताले भ्याएसम्म सशक्त भूमिका निर्वाह गर्ने भट्टराईको प्रतिबद्धता छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर