Gandak News
Our News Your Views

पोखरामा एकैरात तीनवटा बैङ्कको एटिएम मेसिन फोड्न खोज्ने दुई युवक पक्राउ 

‍‍‍‍पोखरा।  एकै रात तीनवटा बैङ्कको एटिएम (ATM) मेसिन फोड्ने खोज्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१५ स्थित एनआईसी एसिया बैङ्क, नेपाल बैङ्क लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन फोड्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर जिल्ला गाईघाट नगरपालिका – ७ स्थायी घर भई हाल पोखरा -१७ छोरेपाटन बस्दै आएका २१  वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङ्दी गाउँपालिका – ४ स्थायी घर भई सोही स्थान बस्दै आएका २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ छन्।

प्रहरीका अनुसार मङ्गलवार राति अन्दाजी १२:१० बजेको समयमा पोखरा -१५ रामबजार स्थित एनआईसी एसिया बैङ्कको एटिएम मेसिन, बिहान अन्दाजी १:२२ बजे बन क्याम्पस गेटसँगै रहेको नेपाल बैङ्क लिमिटेडको एटिएम र बिहान ४:०२ बजे  पेन्सन क्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको एटिएम फोड्नका लागि ढुङ्गा हान्ने तथा सिसी क्यामेरालाई कागजले छोप्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थपको अनुमति लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

लोड हुँदै ...