चितवन । चितवनको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो ।
जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ । शनिबार नै शव परीक्षण गरेर बाघको नमुना परीक्षण सुरु गरिएको छ ।
बाघको मुख र मलद्वारमा सेतो फिज र पेटमा बाख्राको अङ्ग भेटिएको उनले बताए । यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो । गएको वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान छ ।