प्रतिभा माविद्वारा बन्यजन्तु सम्बन्धी सचेतना कार्यक्रम

प्रतिभा माविद्वारा बन्यजन्तु सम्बन्धी सचेतना कार्यक्रम

Prativa Wildlife

पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले २८ औं राष्ट्रिय बन्यजन्तु सप्ताह अन्तर्गत मंगलबार सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यालयले प्रभातफेरि र वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।

‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सह–अस्तित्व’ नारा यो वर्ष तय गरिएको छ । वैशाख १ देखि ७ गतेसम्मको अवधिलाई वन्यजन्तु सप्ताहको रुपमा मनाउने गरिएको छ । पोखरा–४ स्थित विद्यालय परिसरबाट निस्केको प्रभातफेरि सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै विद्यालयमा पुगेर टुंगिएको थियो । विद्यालयका कक्षा ११ का जीवविज्ञान समुहका विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा ‘वन्यजन्तु संरक्षणका लागि मानव वर्गको साझेदारी’ शीर्षकमा वक्तृत्वकला आयोजना गरिएको थियो ।

१० जना प्रतियोगिले भाग लिएको वक्तृत्वकलामा प्रतीक ढकाल प्रथम, कविन्द्र आचार्य द्वितीय, सृष्टि सुनार र सिम्रन पण्डित तेश्रो भएका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस अवसरमा विद्यालयका जीवविज्ञान विषयका शिक्षक हेमन्त ढकालले वन्यजन्तु संरक्षणमा भईरहेका प्रयास र चूनौतीबारे प्रस्तुती राखेका थिए । ढकालले पछिल्लो समय सबैखाले वन्यजन्तुमाथि चुनौती थपिँदै गएको बताए । मानवीय, प्राकृतिक लगायतका कारणले वन्यजन्तुमाथि जोखिम थपिएको उनको भनाई छ । ‘सबै वन्यजन्तुको आ–आफ्नो महत्व छ । एउटा मात्र लोप हुँदा पनि प्रकृतिमा असर पर्छ । वन्यजन्तु संरक्षण नगर्ने हो भने भबिस्यमा समस्या हुन्छ,’ ढकालले भने, ‘धेरै वन्यजन्तु पछिल्लो समय अति संकटापन्न सूचीमा छन । ती वन्यजन्तुलाई जोगाउनु सबैको दायित्व हो ।’ बेलैमा जोगाउने प्रयासमा नलाग्ने हो भने भविश्यमा हाम्रा सन्तानले कतिपय बन्यजन्तु देख्नै नपाउने र चित्रमा मात्र सिमित हुने अवस्था आउने उनले बताए ।

वन्यजन्तुको अवैध कारोबार, मानव–वन्यजन्तु द्वन्द्व, विकास निर्माण, प्रदुुषण लगायतले वन्यजन्तु जोखिममा पर्दै गएको उनले बताए । उनका अनुसार १७ हजार ९७ प्रजातिका वन्यजन्तु नेपालमा पाइन्छन । ‘सानै देश भएपनी नेपाल वन्यजन्तुमा धनी छ । संरक्षण नगर्ने हो भने पछिको पुस्तालाई थाहा हुने छैन,’ उनले भने ।

विद्यालयका प्राचार्य किरण सापकोटाले समुदायमा वन्यजन्तु संरक्षणबारे चेतना फैलाउन आवश्यक रहेको बताए । पछिल्लो पुस्ता वन्यजन्तुको महत्वबारे कम जानकार रहेकोले पनि विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागि गराएको उनले बताए ।

‘वन्यजन्तुको महत्व प्रकृतिलाई कतिसम्म आवश्यक छ भन्ने जानकारी दिनका लागि पनि जरुरी छ । धेरै युवापुस्तालाई वन्यजन्तुको महत्व र प्रकृति संरक्षणबारे ज्ञान छैन,’ उनले भने, ‘वन्यजन्तु नोक्सान हुँदा त्यसको असर प्रकृतिमा कस्तो पर्छ भन्ने बुुझ्न जरुरी छ ।’ विद्यालयले आगामि वर्षदेखि यस्ता कार्यक्रमलाई नियमित रुपमा गर्दै जाने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ