पोखरा । रोजगार तथा अध्ययनको सिलसिलामा पोखरामा बसोबास गर्दै आएका रोल्पा तथा रुकुमका समुदायले शुक्रबार पोखरामा पहिलो पटक भूमे पूजा गरेका छन् । प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँदै आएका छन् ।
भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशले रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । तर, पोखरामा भने पहिलो पटक भूमे पर्व मनाउँदै भूमिको पूजाअर्चना गरिएको हो । पूजाको आयोजना रुकुमेली एकता समाज कास्कीले गरेको हो ।
पोखरामा भएको भूमे पूजामा पहिलो पटक सहभागी भएकी उन्नति बुढामगर आफ्ना साथीहरुसँग सहभागी हुन पाउँदा दंग थिइन् ।
‘पहिलेपहिले युट्युबमा हेर्दा खुब रमाइलो लाग्थ्यो, कहिले मनाउन पाइएला भन्ने लाग्थ्यो,’ उनले खुसी बाँडिन, ‘युट्युबमा हेरेको र अहिले नाच्दा अलि फरक हुने रहेछ । नाच्न आउँदैन सिक्दैछौं, अब अर्को पटकदेखि रमाइलै होला !’
उन्नतिसँगै नमुना र प्रतिमा बुढाले पनि पोखरामै पहिलो पटक १८ मगरात क्षेत्रमा प्रचलित भूमे मेला मनाउने मौका पाए । मध्यान्हको चर्को घामको पनि प्रवाह नगरी उनीहरुले भूमिलाई पुज्दै नाचे ।
रुकुमकी बेनीमाया पुनमगर पछि २१ वर्षपछि भूमे नाच नाच्दा पाउँदै निकै खुसी देखिइन् । कामको सिलसिलामा २ दशकअघि पोखरा आएकी उनी त्यसपछि प्रत्यक्ष भूमे नाच नाच्ने मौका पाएकी थिइनन् ।
‘गाउँमा नाचिराखेका हामी यति वर्षपछि पोखरामा नाच्न पाउँदा एकदमै खुसी लागेको छ । यहाँ नाच्न नपाए पनि हाम्रो दिमागमाचाहिँ थियो,’ पुनले भनिन्, ‘आज २१ वर्षपछि फेरि पनि जानी नजानी नाच्न पाउँदा गाउँमै पुगेकोजस्तो लागिराखेको छ ।’
पुनले पोखरामा पनि भूमे नाच नाच्न सुरु भएसँगै संस्कृति पुस्तान्तरण हुने विश्वास व्यक्त गरिन् । ‘कति नाच्न जानेका मान्छेहरु मरेर गइसके, अहिलेको पुस्तालाई कसले सिकाउने ? गाउँको जस्तो नहोला । तर, सहरबजारमै भए पनि सुरु गरेपछि उनीहरुले पनि हाम्रो संस्कृति बुझ्न पाउँछन्,’ उनले भनिन् ।
प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोबास गर्ने सबै समुदायले मनाउने गर्दछन् । असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ । जेठ पूर्णिमाको अवसरमा लेक चढेर पूजाका लागि बुकी फूल ल्याउने गरिन्छ । त्यसक्रममा विभिन्न २२ थरि चालमा नाच नाच्ने गरिन्छ ।
‘नोकोबांगे फुकाइसकेपछि असारको १ गते बली दिएर भूमिको पूजा गर्छौं । बली दिएर पूजा गर्ने भएकाले हाम्रोतिर बल पूजा पनि भन्छन्,’ रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनार ‘दिपेश’ भन्छन्, ‘योबेला गाउँमा परदेशिएका सबै गाउँले जम्मा हुँदा ठूलो मेला लाग्छ, वर्षौंपछि भेट हुने एउटा मौका मिल्छ ।’
रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष पूर्णबहादुर पुनमगरले जीवन भूमिबाटै सुरु हुने भएकाले भूमि नै देवता भएको सुनाए । ‘हामी प्रकृति पूजक भनेर चिनिन्छौं । हाम्रो संस्कृति नै यही हो, ‘यही धर्तिमा पनि जन्मिएर यही धर्तिकै पूजा गर्न पाउँदा खुसी लागेको छ ।’
आयोजक रुकुमेली एकता समाजले पोखरामा भूमे पूजालाई बर्सेनि निरन्तरता दिने बताएको छ । यसै वर्षदेखि पोखरामा सुरु भएको भूमेमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोबार गर्ने रोल्पाली तथा रुकुमेली पनि सहभागी थिए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’