पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने

पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने

dohori

पोखरा । पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले दोहोरी पुन संचालनमा आउन लागेको जानकारी गराएको छ ।

असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ । विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक विरेन्द्र केसीले बताए । उनका अनुसार दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो । करिब ८५ लाखको लागतमा चिप्लेढुंगामा संचालनमा ल्याइएको दोहोरी साँझमा पारिवारिक वातावरण रहेको उनले बताए ।

दोहोरी प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । सम्बन्धित दोहोरी साँझकै नियमित कलाकार हुनुपर्ने र समूह दर्ता गर्दा दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने नियम रहेको प्रतियोगिताका संयोजक सुमन खड्काले जानकारी गराए । उनका अनुसार कलाकारले अनिवार्य नेपाली पोशाक लगाउनुपर्नेछ । दोहोरी प्रतियोगिता दिउँसो ३ बजेबाट विन्दवासिनी दोहोरी साँझमै हुने र साँझ ७ बजेपछि विशेष सांगीतिक साँझ सहित नियमित कार्यक्रम हुने उनले बताए ।

दोहोरी प्रतियोगितामा विजेता समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार नगद सहित मेडल, ट्रफी पुरस्कार पाउनेछन् । सान्तवना हुने टिमलाई समेत पाँच हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिज गुरुङ,रवी कार्की र अस्मिता डल्लाकोटी सहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ । प्रतियोगिता अवधिभर दिउँसो समेत रेष्टुरेण्ट खुल्ला रहनेछ । प्रतियोगिता हेर्न जाने दर्शकलाई प्रवेशका लागि टिकट लाग्ने छैन । सो समयमा रेष्टुरेण्टको मेन्युमा समेत परिवर्तन गरिने केसीले उल्लेख गरे । उनका अनुसार बाहिरका रेष्टुरेण्टकै रेटमा दिउँसोको समयमा खाजा उपलब्ध गराइनेछ ।

यस्तो खालको प्रतियोगिता नेपालमा नै पहिलो पटक भएको दाबी केसीको छ । उनले दोहोरी साँझलाई हेर्ने नजरमा फेरबदल हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । दोहोरी फोहोरी हो भन्ने मानसिकता बाट दुर भएर आउन उनको ग्राहकलाई आग्रह छ ।

दोहोरी रेष्टुरेण्ट व्यवसायलाई सरकारले समेत थिचोमिचोमा पारेको भनाई उनको छ । उनी आफै उक्त समस्याबाट ग्रसित हुन् । सक्नेको अन्डर ग्राउन्डको व्यवसाय बन्द गराएको तर नसक्नेको व्यवसायलाई रोक्न पोखरा महानगर चुकेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ