आज पहाडी क्षेत्रमा बढी र पश्चिमी तथा मध्य तराईमा कम वर्षा हुने

आज पहाडी क्षेत्रमा बढी र पश्चिमी तथा मध्य तराईमा कम वर्षा हुने

weather-forecast-Mausam

यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परेको छ । मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्ले बताएका छन् ।

यसपालिको मनसुन गएको जेठ ३१ गते भित्रिएको थियो । मनसुन भित्रनासाथ पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा भए पनि पश्चिमी क्षेत्रमा झण्डै १० दिन ढिलो गरी सक्रिय भएको थियो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसपालि अहिलेसम्म पहाडी क्षेत्रमा औसतभन्दा बढी नै वर्षा भएको छ ।

यस्तै, पूर्वी तराईमा औसत पानी परेको छ भने पश्चिम र मध्य तराईमा औसतभन्दा कम पानी परेको छ। पश्चिम र मध्य तराईमा अहिले पनि खासै पानी पर्न सकेको छैन । यसले गर्दा धान रोपाइँ प्रभावित भएको छ ।

अहिलेसम्म जनकपुरमा सबैभन्दा कम वर्षा भएको छ । जनकपुरमा यसअघिका मनसुनमा पनि कम पानी पर्ने गरेको मौसमविद् मानन्धरले बताउनुभयो । तर, यसको कारणबारे अध्ययन भएको छैन । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।

जुन महिना सकिसकेको छ । आज जुलाईको १९ तारिख हो । यसबीचमा देशभर ३५ प्रतिशत पानी परेको छ । अझै पानी पर्ने अवधि कायमै रहेकाले औसत अनुसार पानी पर्ने नपर्ने विषयमा अहिले नै भन्न नसकिने मौसमविद् मानन्धरको भनाइ छ ।

यसअघि जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा औसतभन्दा कम पानी पर्ने अध्ययन सार्वजनिक गरेको थियो । यस्तै, आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । आज ठूलो पानी पर्ने सम्भावना खासै नरहेको मौसमविद्ले बताएका छन् ।

ट्रेन्डिङ