मोर्चा बनेपछि एकीकृत समाजवादी माओवादीमा विलिन हुने हो कि? भन्ने पनि छ: माधव नेपाल

मोर्चा बनेपछि एकीकृत समाजवादी माओवादीमा विलिन हुने हो कि? भन्ने पनि छ: माधव नेपाल

पार्टी बलियो बनाउन कार्यकर्तालाई निर्देशन

Madhav Nepal

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

नेपालले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे । उनले भने, ‘म हाम्रो पार्टीको कार्यकर्तालाई भन्न चाहन्छु । आफ्नो पार्टी पनि बलियो बनाउनुस् । समाजवादी मोर्चालाई पनि गतिशील बनाउनुस् ।’

नेपालले एकीकृत समाजवादी माओवादीमा विलिन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए ।

‘म सुन्ने गर्दछु, यो मोर्चा बनाएपछि यो पार्टीहरु विलिन हुनेछन् । हाम्रै पार्टीभित्र पनि कतिपयलाई लागेको छ, यो माओवादीमा विलिन हुने हो कि भनेर । अरु कसैलाई जनता समाजवादी पार्टीमा लागेको पनि होला । जताजता मिल्न मन लागेको छ, उहाँहरुलाई मिल्नमा हामी रोक लगाउँदैनौँ । तर हाम्रो पार्टीको कुरा हामी भन्नेछौँ ।’ उनले भने ।

नेपालले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई आग्रह गरे । उनले आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिए । उनले भने, ‘प्रत्येक पार्टीलाई भन्न चाहन्छु, तपाईहरु आ–आफ्नो ठाउँमा जनताको माझमा जानुस् । संगठन गतिशील बनाउनुस् । जनतासँग जोडिनुस् । राम्रो काम गर्नुहोस् । राम्रो व्यवहार देखाउनुहोस् । असल आचरण देखाउनुहोस् । तपाईहरु असल नेता बन्नुहुनेछ ।’

काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि नेपालको आग्रह छ । ‘तपाईहरुलाई म भन्न चाहन्छु खुट्टा तान्ने होइन । यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन । काम गर्नुस् । गर्नुहुन्न भन्ने पन्छिनुस् । कि काम गर्नुस् कि बाटो छोड्नुहोस् ।’ उनले भने ।

विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds