डेढ अर्ब बढी अपचलन गरी फरार ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी

ठगी

डेढ अर्ब बढी अपचलन गरी फरार ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी

जेठ ५ गतेदेखि सम्पर्कविहीन

Devkumar Nepali Baglung

बागलुङ । सहकारीका बचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली साढे तीन महिनादेखि फरार छन्।

बागलुङ र पोखरामा पनि कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन भएका हुन्। अध्यागमन विभागले मेयर नेपालीलाई गत जेठ पहिलाे साता नै कालो सूचीमा राखेको छ ।

ढोरपाटन-१ घर भएका मेयर देवकुमार नेपालीसहित ११ जना सञ्चालकविरूद्ध असार २५ गते मुद्दा दर्ता भएको छ ।  साउन ४ गते लक्ष्मी सेन सुनार, चित्रबहादुर भण्डारी, रूपा विक, शक्ति किसान, डोरबहादुर परियार, लालमती रोका, सुनील नेपाली, झगबहादुर शाही, अनील नेपाली, देवकुमार नेपाली, अनिता बुढा मगरसहित ११ जनाविरूद्ध मुद्दा दायर भएकामा प्रबन्धक शक्ति किशान, लेखा प्रमुख चित्रबहादुर भण्डारी र सञ्चालक समिति सदस्य लालमति रोकालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरूद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार नै गरेको थियो।

जेठ २१ गते जिल्ला प्रहरी कार्यालय बागलुङले उजुरी आह्वान गरेको थियो। मेयर देवकुमार नेपालीलगायत सहकारी सञ्चालकहरू विरूद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका थिए।

बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको देखिएको छ। मेयर देवकुमारले पोखरामा पनि इमेज बचत तथा ऋण सहकारीकै नाममा अर्को सहकारी दर्ता गरेका थिए।

जहाँबाट ५ सय बढी बचतकर्ताको ५० करोड रुपैयाँ अपचलन गरेको देखिएकाे छ । उक्त रकम उनले घर जग्गा कारोबारमा लगानी गरेको प्रबन्धकको भनाइ छ। दुई संस्थाको गरी नेपालीले २ अर्ब बढी रुपैयाँ अपचलन गरेको अनुसन्धानबाट देखिएको छ।

प्रबन्धक पौडेलका अनुसार अध्यक्ष नेपालीले बागलुङकै संगीता थापा मगरलाई अपरेशन हेड बनाएका थिए। ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए। मगर र नेपाली पनि सम्पर्कविहिन नै छन्। बागलुङमा सञ्चालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा रहेको छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र सञ्चालनमा छ।

सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ। एउटा प्रदेशभन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ।

सहकारी ऐनले तोकेको सोही व्यवस्थाअनुसार मेयर नेपालीले पोखरा र बागलुङमा एउटै नामका २ छुट्टाछुट्टै सहकारी दर्ता गरेका हुन्। तर सोही ऐनले एउटै व्यक्ति २ वटा सहकारीको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले सहकारीको सञ्चालक पद छाडेका थिएनन्। सहकारी विनियमले जनप्रतिनिधीलाई सञ्चालक बन्न नपाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ