पोखरा । परापूर्वकाल देखि नै पोखराको बाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेलाको तयारी पूरा भएको छ ।
नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा यही असोज १ गते हिमालय क्लबको आयोजनामा स्थानिय खेल मैदानमा हुन लागेको मेलामा आन्तरिक बाहेकका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिए ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा विगतका वर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको क्लवले यस वर्ष विशुद्ध तीज गीत र नृत्यलाई प्राथमिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताको लागि गर्न लागिएको अध्यक्ष सुशिल बस्नेतले बताए ।
मेलामा १७ वटा समूहले सहभागिता जनाउने निश्चित भएको छ । असोज १ गते हुने मेलाको उद्घाटन १७ वटा आमा समुहका अध्यक्षले संयुक्त रुपमा गर्ने र सोहि दिन सामुदायिक विद्यालयतर्फ नेपालमै उत्कृष्ट पहिलो हुन सफल बाटुलेचौरको विन्ध्यवासिनी माविलाई सम्मान गरिने क्लबका निर्वतमान अध्यक्ष मोहन थापाले बताए ।
उद्घाटनका दिन चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योति लोहनीको प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, मानार्थ सदस्य बेनि बहादुर बस्नेत, सल्लाहकार रामबहादुर बानियाँ, खिमलाल अधिकारी, संयोजक तारा प्रसाद तिमिल्सिना, लक्ष्मी श्रेष्ठ, महिला नेतृ लक्ष्मी पाण्डे लगायतले तीज पर्वलाई मौलिक र संस्कृतिक बनाउन कुनै कसर बाँकी राख्न नहुने बताए।

तत्कालिन कास्कीका राजा कुलमण्डन शाहकै पालादेखि बाटुलेचौर तीज गीतका लागी प्रख्यात रहेको पाइन्छ । त्यतिबेलै बाटुलेचौर, लामाचौर, भलाम, घार्मी, पुरुन्चौर, अर्मला लगायतका क्षेत्रका महिलाहरु सेती गंगा स्नान गर्न जाने र फर्किँदा बाटुलेचौर मैदानमा बसेर तिज गीत गाउँदै नाचेर रमाईलो गर्ने गरेको आफ्ना पूर्वजले बताएको सचिव देवकोटाले जानकारी दिए । उनीहरु पानी पनि नखाई भोकै बसेर दिनभर नाचगान गर्दथे । सहभागी दिदीबहिनीलाई तत्कालिन राजा शाहले नाचगान गरे बापत १ मोहर दिने गरेको पनि पाइएको छ ।
मेलाको ऐतिहासिक र साँस्कृतिक पक्षलाई बचाई राख्न पनि निरन्तरता दिइएको र आमन्त्रित टोलीले परम्परागत रुपमा आ–आफ्नो समूहमा बसेर गीत तथा नृत्य प्रस्तुत नियम बनाइएकाे छ । १ दिन मात्र सञ्चालन हुने मेलामा करिब ५ लाख खर्च लाग्ने क्लबले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहनेछ ।
पत्रकार सम्मेलन पछि क्लबले शुभकामना आदानप्रदान सहित आजिवन महिला सदस्यलाई दर समेत खुवाएको थियो । मेलालाई व्यवस्थित र ऐतिहासिक बनाउन विभिन्न संघ संस्था र व्यक्तिले स्वतःस्फुर्त रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।
– शिशिर उजाड
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?