आज संविधान दिवस, गण्डकी प्रदेशमा यसरी मनाइयो [फोटो फिचर]

संविधान दिवस

आज संविधान दिवस, गण्डकी प्रदेशमा यसरी मनाइयो [फोटो फिचर]

सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

Sambidhan Diwas 2080

तस्वीर सौजन्य: राधिका कँडेल

पोखरा । आज असोज ३, संविधान दिवस । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

गण्डकी प्रदेशमा विशेष कार्यक्रम

गण्डकी प्रदेश सरकारले पनि विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । प्रदेश मूल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमै बुधबार विषेश समारोह गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए । उनले भने, ‘यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।’

यति बेला मुलुक, नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको उनले बताए ।संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकारहरू आ–आफ्नो संवैधानिक कार्यभारहरू पूरा गर्न क्रियाशील रहेको उनको भनाइ थियो । उनले भने, ‘जुन कुराको अपेक्षा आम प्रदेश बासीले प्रदेश सरकारबाट गरिरहेका छन्, ती जनताका अपेक्षा पूरा गर्न सत्ता पक्ष र प्रतिपक्षको इमान्दार प्रयास र सहकार्य अहिलेको आवश्यकता हो ।’

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमाथि प्रहार गर्नेविरुद्ध मिलेर लड्नुपर्ने बताए । उनले जनतामा रहेका केहि निराशा र असन्तुष्टिलाई प्रयोग गरी जनताको अधिकार खोस्ने प्रयास भइरहेको बताउँद अघि थपे– ‘जनताको बलिदानीबाट प्राप्त संविधानलाई उल्टाएर जनताको अधिकारलाई खोस्ने यो वा त्यो कुनाबाट प्रयास भइरहेको छ । त्यसैले संविधानको कार्यान्वयनमा राजनीतिक दल, नागरिक समाजसहित समुदायबाट सरकारलाई सहयोग प्राप्त हुने कुरामा विश्वास राखेको छु ।’

मुख्यमन्त्री पाण्डेले संविधानले निर्दिष्ट गरेका लक्ष्यहरु पूरा गर्नुपर्ने दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्व भएको बताए । त्यसप्रति गण्डकी सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘हामीले संविधानको मूल्य र मान्यतामा आधारित समाजवादको दिशामा प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र र शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ती, सुशासन, समृद्धि र विकासको आकांक्षालाई पूरा गर्ने संकल्प गरेका छौं ।’

उनले यस अवधिमा गण्डकी सरकारले प्रदेशको सुशासन, विकास र समृद्धिको खाका तयार भएको दाबीसमेत गरे । उनले भने, ‘प्रदेश सरकारले नागरिकको समृद्धि र उन्नयनको खाका कोर्दै प्रदेशबासीको प्रतिव्यक्ति आय बढाउने, दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, बहुआयामिक गरिबी न्यूनिकरण गर्ने, प्रदेशभित्र सडक सञ्जालको पहुँच स्थापित गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र गुणस्तरीय बनाउनेतर्फ योजनाबद्ध विकासमा नयाँ पाईला चालेको छ ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारले आम नागरिकसामु देख्न, छुन र अनुभव गर्न सक्ने अवस्थामा आफूलाई उभ्याएको दाबी गरे । संघीय शासन प्रणाली नया अभ्यास भएपनि यस अवधिमा भएका विधि निर्माणका लागि गरिएका वैधानिक व्यवस्था, संस्थागत एवम् संरचनागत व्यवस्था, मानव संसाधनको आपूर्ती एवम् क्षमता विकास, विकास निर्माणका उपलब्धीहरु त्था सेवा प्रवाह सहज बनाउन सरकारबाट गरिएका प्रयासहरुले यस्तो अवस्था निर्माण भएको उनको भनाई थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारलाई अब्बल बनाउने क्रममा ६३ वटा ऐन र २२ वटा नियमावली तर्जुमा गरिएको उल्लेख गरे । त्यस्तै, थप ४२ वटा क्षेत्रगत कानूनहरु निर्माण गर्नुपर्ने पहिचान भई सूची तयार भएको र त्यसमध्ये ३ वटा निर्माणको क्रममा रहेको उनले बताए ।

सैनिक मञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस

केन्द्रीय स्तरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच सरकारले संविधान दिवस मनाएको हो ।

समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए ।

संविधान सभाबाट नयाँ संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ