प्रतिभा माविमा ‘स्पोर्ट्स मीट’ सुरु

प्रतिभा माविमा ‘स्पोर्ट्स मीट’ सुरु

कक्षा ११ र १२ का ३८ सेक्सनका छात्र र छात्रा विभिन्न समूहमा सहभागी

Prativa School Sports (2)

पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा मंगलबारदेखि वार्षिक खेल गतिविधि सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार तीनदिने खेल गतिविधिमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका प्रतियोगिता संचालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिश्पर्धा गर्ने सापकोटाले बताए ।

प्राचार्य सापकोटाले विद्यालयले हरेकवर्ष यस्तै कार्यक्रम आयोजना गर्दै आएको बताए । ‘प्रतिभा स्कुल परीक्षा परिणाममा मात्र अब्बल होईन की खेल गतिविधिमा पनि उत्तिकै अब्बल छ,’ सापकोटाले भने । उनका अनुसार प्रतिभा मावि अघिल्लो वर्ष प्याब्सनतर्फ बास्केटबल, भलिबल र एथ्लेटिक्समा च्याम्पियन बनेको थियो । त्यस्तै, हिसानको अघिल्लो वर्षको संस्करणमा पनि अब्बल सावित बनेको थियो । ११ र १२ का ३८ वटा सेक्सनका छात्र र छात्राले विभिन्न समूह बनाएर प्रतियोगितामा भाग लिएको सापकोटाले जानकारी दिए ।

‘विद्यार्थीको सर्वाङिगण विकासका लागि विभिन्न खेल गतिविधि गर्दै आएका छौ,’ सापकोटाले भने । उनले परम्परागत रुपमा गृहकार्यको भारिको साटो विद्यार्थीलाई फरक तरिकाले अब्बल बनाउने गरेको बताए । बिज्ञान प्रदर्शनी र बिजनेस प्लान प्रेजेन्टेसन प्रतिश्पर्धा गराउने तयारी भएको पनि उनले जानकारी दिए । त्यसबाहेक प्रतिभा फुड फेस्टिबल पनि गर्ने योजना प्राचार्य सापकोटाले बताए ।

प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्न विद्यालयमा हुने यस्ता गतिविधिले सघाउने बताए । खेलकुद मार्फत आत्मियता पनी बढाउने उनले बताए । ‘पोखरामा यति धेरै स्कुल–कलेज छन की जहाँ शैक्षिक पाटो मात्र नभई खेलकुदलाइ पनि उत्तिकै महत्व दिइन्छ,’ गुरुङले भने । उनका अनुसार पछिल्लो समय युवामा बास्केटबल खेल लोकप्रिय बन्दै गएको छ ।

‘खेलकुद मेडलका लागि मात्र नभई व्यक्तिगत सहभागिता पनि महत्वपूर्ण छ । किनकी यसले मानसिक र शारीरिक क्षमता बढाउँछ । व्यक्तिमा अनुशासन बढाउँछ,’ गुरुङले भने । गण्डकी प्रदेश खेलकुदको सम्भावना रहेको उनले बताए । गण्डकीको भौगोलिक अवस्थाले पनि यो प्रदेश खेलकुदमा अब्बल रहेको उनको भनाई छ ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतिभाले खेलकुदको क्यालेन्डर नै बनाएर खेल गतिविधि गर्दै आएको बताए । ‘खेलकुद बिना अनुशासन पनि हुदैन । स्वस्थ जीवन बनाउने आधार नै खेलकुद हो,’ पौडेलले भने, ‘खेलकुदबाट अघि बढ्ने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थी भित्र लुकेको खुबी देखाउने एउटा अवसर खेलकुद रहेको उनले बताए । उनले पनि खेललाई निरन्तरता दिने हो भने मान्छे स्वस्थ बन्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ