तिहारको दोस्रो दिन : आज कुकुर पूजा र लक्ष्मी पूजा गरिंदै

तिहारको दोस्रो दिन : आज कुकुर पूजा र लक्ष्मी पूजा गरिंदै

laxmi-dog-tihar

पोखरा । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदैछ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ । तिथिअनुसार आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ ।

धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको द्वारपालको रुपमा पूजा गर्ने गरिन्छ । विधान अनुसार लक्ष्मीपूजा भने औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

आज बेलुका समूह बनाइ घरघरमा भैलो पनि खेलिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान मानिन्छ । लक्ष्मी पूजाको अवसरमा सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds