पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण

शिक्षा

पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण

स्वदेश केन्द्रित शिक्षा प्रणाली विकास गर्न सरोकारवालाको चासो, महेन्द्र रिमाललाई 'दीर्घ सेवा सम्मान'

PMC annual day (1)

पोखरा बहुमुखी क्याम्पसले विविध कार्यक्रमका बीच आफ्नो ३७ औं वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, क्याम्पस प्रशासन तथा सञ्चालक समिति सदस्य, क्याम्पस स्थापना लगायत उन्नति प्रगतिका लागि योगदान दिने व्यक्तित्व, चन्दादाता, अक्षयकोष तथा पुरस्कार स्थापना गर्ने व्यक्तित्व, संघ संस्था, तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

क्याम्पसलाई सहयोग गर्ने व्यक्तित्व लगायत बिद्यार्थीको प्रतिभा प्रस्फुटन , नेतृत्व तथा व्यक्तित्व विकासका लागि क्याम्पसले बिभिन्न समयमा आयोजना गरेका प्रतियोगितामा विजयी बिद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वबिद्यालय अनुदान आयोगका प्रमुख, प्राध्यापक डा. देवराज अधिकारीले सामुदायिक क्याम्पसहरुले अनुसन्धालाई प्राथमिकता दिने हो भने यस्ता क्याम्पसमा शिक्षाको गुणस्तर बढ्ने बताए । बिद्यार्थीलाइ गुणस्तरिय शिक्षा दिनका लागि प्राध्यापकको गुणस्तर बढाउनुपर्ने र यसका लागि प्राध्यापकहरुले अनुसन्धानमुलक काम गरेकै हुनुपर्छ भन्दै उनले पोखरा बहुमुखी क्याम्पसले यस्ता काममा क्रमिक रुपमा प्रगति गर्दै गएको भन्दै शुभकामना व्यक्त गरे ।

उनले पछिल्लो क्रममा देशको राजनितिक, आर्थिक लगायतका विभिन्न परिस्थितिका कारण युवा जनशक्ति विदेश पलायन भइरहेको यथार्थ औंल्याए । उनले शिक्षाको गुणस्तर र स्वदेशमै शैक्षिक करिअरमा बिद्यार्थीलाई आकर्षित गर्न सघाउने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगले आफ्नो ऐन समेत परिमार्जन गर्न लागेको जानकारी दिए ।

क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले गुणस्तरिय शिक्षाका लागि क्याम्पसले गरिरहेको प्रयासमा हौसला र सहयोगको हात बढाउने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिइन् ।

उनले पछिल्लो क्रममा विद्यार्थीहरु शैक्षिक तथा अतिरिक्त क्रियाकलापका लागि निकै जागरुक भएको जनाउँदै उनिहरुको उज्जल भविष्यका लागि क्याम्पस अहोरात्र खटिइने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मान बहादुर जिसीले सामुदायिक क्याम्पसहरुले समय समयमा विभिन्न क्षेत्रमा अनुभवि व्यक्तित्वहरुका अनुभव बिद्यार्थीहरुलाई बाँड्ने पद्दतीको विकास गर्ने हो भने बिद्यार्थीहरुले स्वदेशमा अवसरका क्षेत्रहरु पहिल्याउन सक्ने बताए ।

निवर्तमान मेयर जीसीले पोखराको सबैभन्दा जेठो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको गुणस्तर बृद्धि गर्न आफ्नो ज्यान नै धितो राख्नु परेपनि आफू तयार रहेको बताए । जिसी पोखरा महानगरको मेयर भएकै बेला पोखरा बहुमुखी क्याम्पसलाइ आफ्नै भवन बनाउनका लागि पोखरा ९ शान्तिवन अर्थात अहिले क्याम्पस सञ्चालित जग्गा प्राप्ति भएको थियो ।

बरिष्ठ उद्यमी तथा सामाजिक व्यक्तित्व आनन्दराज मुल्मीले मोफसलका सामुदायिक क्याम्पसलाई सहयोग, प्रेरणा र हौसला, चासो र निगरानी दिनु नै उत्कृष्ट शिक्षा प्रणालीको पहिलो खुड्किलो हो भन्दै यसप्रति ध्यान दिन सबै सरोकारवालाहरुलाई आग्रह गरे ।

कार्यक्रममा जनप्रिय क्याम्पस संचालक समितिका अध्यक्ष बिरेन्द्र नारायण विजुक्छे, पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा क्याम्पस प्राध्यापक संघका अध्यक्ष हस्त बहादुर थापा लगायतले बोलेका थिए ।

सम्मान तथा पुरस्कार प्रदान

क्याम्पसका बरिष्ठ प्राध्यापक महेन्द्र रिमाललाई ‘दीर्घ सेवा सम्मान’ पनि प्रदान गरियो । यसैगरी सहायक क्याम्पस प्रमुख अनुपमणि अधिकारी र प्राध्यापक भिम न्यौपानेलाई उत्कृष्ट प्राध्यापकका रुपमा सम्मान गरिएको थियो ।

क्याम्पस सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाहरुबाट स्थापित पुरस्कार तथा छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रममा लक्ष्मी हाउस छात्रवृति, मिन छात्रवृति, स्वर्गीय डिलमाया स्मृति छात्रवृती, समिर महिमा छात्रवृत्ति, बेलायती तथा चिनिमाया छात्रवृत्ति, धनिराम बराल छात्रवृत्ति, रुक कुमारी गुरुङ छात्रवृत्ति, बिद्या राना छात्रवृत्ति, विष्णु बास्तोला स्मृति अक्षयकोष छात्रवृत्तिसहित क्याम्पसले प्रदान गर्ने छात्रवृत्तिबाट विभिन्न विधामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

क्याम्पसका बिभिन्न संकाय अन्तर्गत बिभिन्न शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी, विभिन्न सप्ताहव्यापी प्रतियोगिताका विजयी छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा, अन्तर मावि स्तरिय छात्रा भलिबल प्रतियोगितामा विजयी पश्चिमाञ्चल मावि र गुरुकुल बिद्यासदनलाइ क्रमशः ३० हजार र २० हजार नगद सहित शिल्ड र मेडलद्वारा पुरस्कृत गरिएको थियो ।

त्यसैगरी, क्याम्पसले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा विजयीलाई नगद पुरस्कार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बरिष्ठ प्राध्यापक महेन्द्र रिमालले गरेका थिए भने संचालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ , बिद्यार्थी कल्याणकारी समिति अध्यक्ष सलिना थापा मगरले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ