तनहुँ । पैसा कमाउन विदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीं कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका-१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन् ।
मासिक ३ लाखको नोकरी छाडेर कृषि पेशा अँगालेका उनले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीं नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।
स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउँछन् । पुर्ख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराइ गरिआएको थियो ।
बसाइँसराइ गरेर आएको केही वर्षपछि व्यावसायिक रूपले कागती खेती सुरुवात गरिएको उनकी पत्नी सिर्जना कोइराला बताउँछिन् । कागती खेतीबाट बर्सेनि उत्पादन वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछिन् ।
‘कागतीका बिरुवा आफूले हुर्काए पनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेशा सम्हाल्दै आउनुभएको छ, सिर्जना भन्छिन्, ‘घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ ।’
विसं २०७८ मा रु४ लाख, २०७९ मा रु७ लाख र २०८० मा रु१५ लाखको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन् । यस वर्ष गत वैशाख र जेठ महिनामा हावाहुरी सहितको असिनाले क्षति नबनाएको भए करिब रु२० लाख बराबरको कागती बिक्री हुने लक्ष्य उनीहरूको थियो ।
करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकोमा अहिले छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराएको थियो ।
आफूहरुलाई व्यावसायिक कृषि पेशामा लाग्न उत्प्रेरणा दिनुहुने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीको ठूलो योगदान रहेको किसान सिर्जना स्मरण गर्छिन् । कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न नसकिने उनी बताउँछिन् ।
पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । हाल जिल्लामा २६३ हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने २२१ हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा एक हजार पाँच सय पच्चीस मेट्रिक टन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियार बताउँछन् ।
बिक्रीका लागि समस्या छैन
उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फ लागेको सिर्जना बताउँछिन् । उत्पादित कागती पोखरा,चितवन लगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।
प्रतिकिलो रु १०० देखि रु १५० सम्म कागती बिक्री हुने गरेको छ । कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन् । कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ ।
कागती खेती छोराछोरी हुर्काए जस्तै कठिन
कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन् । सानोतिनो मिहिनेत र परिश्रमले कागती खेती हुँदैन, सिर्जना भन्छिन्, ‘सफलता हासिल गर्न उत्तिकै रुपमा खट्नु पनि पर्छ ।’
सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भए पनि कागती खेतीका लागि हावापानी र माटो सुहाउँदो भएकाले यसैतर्फ आकर्षित भएका हौं’ उनी भन्छिन् । कागती फागुन र चैत महिनादेखि फुल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुने किसान रेग्मी बताउँछन् ।
बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्लो समय कागती खेतीतर्फ आकर्षण बढ्दै गएको सम्बद्ध किसान बताउँछन् । रासस
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ