प्रतिभाको पहिचान गर्न एनप्याब्सन कास्कीले ‘बृहत् बाल प्रतिभा महोत्सव’ गर्ने

अतिरिक्त क्रियाकलाप

प्रतिभाको पहिचान गर्न एनप्याब्सन कास्कीले ‘बृहत् बाल प्रतिभा महोत्सव’ गर्ने

पुस ६ गतेदेखि ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा

Npabson 2080

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन) कास्कीले बृहत् बाल प्रतिभा महोत्सव आयोजना गर्ने भएको छ ।

एनप्याव्सन कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले यहि पुस ६ गतेदेखि ८ गतेसम्म पोखरामा प्रथम बाल प्रतिभा महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।

पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने महोत्सवमा लोकनृत्य प्रतियोगिता, एकल गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, अभिनय प्रतियोगिता र कविता वाचन प्रतियोगिता आयोजना हुने जनाइएको छ ।

लोक संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई लोक संस्कृतिप्रति आकर्षित गर्नका लागि यी प्रतियोगिताहरु राखिएको एन.प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

महोत्सवमा आविश्कार तथा अपसाईक्लिङ÷रिसाईक्लिङ प्रतियोगितापनि आयोजना गर्ने एन.प्याव्सन कास्कीले जनाएको छ । विज्ञान तथा प्रविधिको आवश्यक्ता र महत्वलाई आत्मसाथ गर्दै आविश्कार तथा अपसाईक्लिङ/रिसाईक्लिङ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।

त्यस्तै, मौलिक परम्परागत हस्तकलाबाट निर्मित वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनीपनि महोत्सवमा गरिने उनले जानकारी दिए । ‘मौलिक परम्परागत हस्तकलाका सामानहरुको संरक्षण र सम्वद्र्धन गर्न विद्यार्थीहरुले नै बनाएका वस्तुहरुको प्रदर्शनी प्रतियोगितात्मक रुपमा गर्छौं’–उनले भने ।

उनका अनुसार महोत्सवमा नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेका पारम्परिक वस्तुहरु पराल, छ्वाली, चोया र पातबाट बनेका सामग्रीको छुट्टाछुट्टै प्रतियोगितात्मक प्रदर्शनी हुनेछन् । प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिने उनले बताए ।

तीन दिनसम्म महोत्वसमा एन.प्याव्सन कास्कीमा आबद्ध ४७ वटै विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सव सम्पन्न गर्न करीब १५ लाख लाग्ने अनुमान गरिएको एनप्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ