जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह

जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह

samuhik-bibah

जनकपुरधाम । सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाम स्थित जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गराइएको हो ।

सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेको थियो । प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि ९ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५/२५ जनाका लागि खाजा÷खानाको व्यवस्था समेत परिषदले गरिदिएको थियो ।

परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा ८०/८५ हजार रुपैयाँ खर्च भएको छ । परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ ।

विवाह गर्नु अघि बेहुलाहरुलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।

जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउँछन् ।

विवाहपञ्चमीको अवसरमा परिषदले विगत पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds