अखिल गण्डकी अधिवेशन: आन्दोलनका अगुवालाई प्रतिनिधि नबनाउन तिकडमबाजी !

गुटीय प्रतिष्पर्धा:

अखिल गण्डकी अधिवेशन: आन्दोलनका अगुवालाई प्रतिनिधि नबनाउन तिकडमबाजी !

अधिवेशनको अघिल्लो दिनसम्म प्रतिनिधि टुंगो लागेन

final-photo-sundar-baral

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकीको अधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुँदैछ । अधिवेशन भोलि भएपनि आज यो समाचार तयार पार्दासम्म सबै जिल्लाबाट प्रतिनिधि टुंगो लागिसकेको छैन ।

गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका विद्यार्थी पदाधिकारी बन्न आन्तरिक रणनीति बनाइरहेका छन् । यी दुवै समूहमा नखुलेकाहरु पनि प्रदेश कमिटीको पदाधिकारी र सदस्य आउन प्रयासरत छन् ।

प्रदेशको उपाध्यक्ष लड्ने तयारीमा रहेका सुन्दर बराल ‘धड्कन’लाई प्रतिनिधि बन्नै रोक लगाइएपछि अखिलभित्र यो विषय अहिले बहसमा छ । कास्कीमा अखिलको हरेक आन्दोलनमा सक्रिय र अग्रपंक्तिमा खटिने बरालप्रति अनेरास्ववियु पोखरा महानगर कमिटी र जिल्ला कमिटी अध्यक्ष इच्छुक नभएपछि प्रतिनिधिको सूचीमा अटाएका छैनन् ।

पोखरा महानगर कमिटी अध्यक्ष दुर्गानाथ (डीएन) लामिछानेले बराललाई प्रतिनिधि नल्याउनलाई कमिटी बाहिरका विद्यार्थीलाई प्रतिनिधि नबनाउने अड्डी कसेका थिए । त्यसलाई जिल्ला कमिटीले पनि पछ्याउने प्रयास गरेको थियो । तर, खगराज अधिकारी समूहका विद्यार्थी नेता कास्की जिल्ला अध्यक्ष सन्तोष पोखरेलले आफ्नै समूहका महेन्द्र उपाध्याय (मन्नु)लाई प्रतिनिधि बनाएका छन् । उपाध्याय पनि विद्यार्थी आन्दोलनमा सुन्दर बराल जत्तिकै सक्रियमध्ये पर्छन् ।

डीएन र सुन्दर माधव नेपाल समूह पृष्ठभूमिका हुन् । पृथ्वीनारायण क्याम्पसदेखि नै दुई नेताबीच प्रतिस्पर्धा हुँदै आएको छ । प्रदेशमा पदाधिकारी जितेमा बराल आफूभन्दा माथि जाने देखेपछि डीएन उनलाई प्रतिनिधिमा रोक्न चाहिरहेको अखिल स्रोत बताउँछ ।

जिल्ला अध्यक्ष पोखरेलले भने आफूहरुको समूहबाट प्रदेश अध्यक्ष लड्ने कोही नदेखिएको र चुनाव नै हुने अवस्थामा उम्मेद्वार बनाउने गरी नेताहरुकै सल्लाहमा उपाध्यायलाई प्रतिनिधि बनाएका छन् । बराल जिल्ला कमिटीको बैठकमा नगएकाले प्रतिनिधि हुन नपाएको जिल्लाका नेताहरुको दाबी छ । तर, अध्यक्ष पोखरेललाई प्रदेश इन्चार्ज आशिर्वाद सुवेदीले बराललाई प्रतिनिधि नल्याउन निर्देशन दिएको विश्वस्त स्रोत बताउँछ ।

सुवेदीले सुन्दरलाई ‘तिमीले पहिला मलाई सहयोग गरेजस्तो लाग्दैन, पार्टीको प्रदेश अधिवेशनमा पनि अर्को पक्षतिर लाग्यौ’ भनेर प्रतिनिधि जान नदिने संकेतसहित फोन वार्ता गरेको स्रोत बताउँछ । कुनै हालतमा प्रतिनिधि बन्न नपाउने बुझेपछि उनी कास्की जिल्ला कमिटीको प्रतिनिधि छनोट गर्ने बैठकमा गएनन् । आशिर्वाद कास्कीबाट खगराज इतर समूहका मान्छे जो पदाधिकारीमा आउन सक्छ उसलाई प्रतिनिधि नबनाउने पक्षमा रहेको बुझिन्छ ।

एमालेको असोजमा भएको प्रदेश अधिवेशनमा सुन्दर पृथ्वीसुब्बा समूहतिर खुलेका थिए । त्यसैले जिल्ला अध्यक्ष पोखरेलले फरक समूहकै भएकाले सुन्दरलाई प्रतिनिधि ल्याउन नचाहेको अखिलका एक नेताले सुनाए । ती नेता भन्छन्, ‘आन्दोलनमा सधैं अघिल्लो लाइनमा देखिने, आन्दोलन सफल बनाउने मान्छेमाथि नै यस्तो त नहुनुपर्ने हो ।’

सक्रिय व्यक्तिलाई नै प्रतिनिधि नल्याउने पक्षमा देखिएका केन्द्रीय सचिव सुवेदी, महानगर कमिटी अध्यक्ष लामिछाने र जिल्ला अध्यक्ष पोखरेलसँग धेरै विद्यार्थी असन्तुष्ट छन् ।

जिल्ला उपाध्यक्ष भइसकेका सुन्दर गत साउनमा भएको अधिवेशनबाट अखिलको जिल्ला अध्यक्ष हुन चाहेका थिए । तर, त्यतिबेला अर्को ठाउँमा सेटल गर्ने भन्दै केन्द्रीय सचिवहरूले सन्तोषलाई जिल्ला अध्यक्ष बनाए । माधव नेपाल समूहबाट आएकाले सुन्दरलाई अध्यक्ष बनाउन नहुने पक्षमा पार्टी र विद्यार्थी संगठनका अन्य नेताहरु थिए । सुन्दर त्यतिबेला दुवै गुटमा खुलिसकेका पनि थिएनन् ।

कुनै भूमिका नभए पनि बराल संगठनका गतिविधिमा निरन्तर सक्रिय थिए । यसरी सक्रियलाई पटकपटक पेलानमा पार्दा अखिलले अबका दिनमा गर्ने आन्दोलनलाई नै प्रभाव पार्ने ती नेताको विश्लेषण छ । पृथ्वीसुब्बानिकट महानगर कमिटी अध्यक्ष दुर्गानाथ अहिले सुन्दरलाई जसरी पनि प्रतिनिधि ल्याउनुपर्ने दबाबमा छन् । पृथ्वीसुब्बानिकट केन्द्रीय सचिव प्रकाश पौडेलले सुन्दरलाई प्रतिनिधि ल्याउन महानगर अध्यक्ष दुर्गानाथलाई निर्देशन दिएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, गण्डकी सरकारले कर वृद्धि गर्दा, एनसेलको सेयर खरिदबिक्रीविरुद्ध नाराबाजी गर्नमात्र होइन, उनी विद्यार्थीलाई स्कुल बसमा कोचाकोच गरेर लैजाने गरेको विषयमा आन्दोलन गर्न र त्यो गतिविधि रोक्न अग्रपंक्तिमा खटिएका थिए ।

बराल आफू प्रतिनिधि आउन नपाएको विषयमा बोल्न चाहँदैनन् । उनले प्रतिनिधि हुन रोकावट भएको विषयमा हामीले चासो राख्दा आफ्नो सक्रियताको मूल्यांकन हुनुपर्नेबाहेक अन्य प्रतिक्रिया जनाएनन् ।

अखिलको प्रदेश अधिवेशन शुक्रबार पृथ्वीनारायण क्याम्पसमा उद्घाटन हुनेछ । प्रदेशभरबाट ३ सय जना प्रतिनिधि आउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds